अमेरिकामा इन्ट्राको तिहार कार्यक्रम, रमाए अमेरिकी सांसद

हिमाल प्रेस १२ कार्तिक २०८१ २१:४० | Monday, October 28, 2024
अमेरिकामा इन्ट्राको तिहार कार्यक्रम, रमाए अमेरिकी सांसद

अमेरिका- अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा अमेरिकाका सांसदहरुले नेपालीहरूसँगै तिहार उत्सव मनाएका छन्।

सस्कीहाना टाउनसिप मिडल स्कुलको अडिटोरियम हलमा इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित पुरस्कार वितरण एवं तिहार उत्सव कार्यक्रममा अमेरिकी संघीय संसद्का सदस्य कंग्रेसम्यान स्कट पेरी र उनको टिम एवं पेन्सिलभेनिया राज्यका सांसदहरू डेभ म्याडसन, जस्टिन फ्लेमिङ, स्वातारा टाउनसिपका कमिश्नर टम कनोलीसहितले नेपाली मूलका बालबालिकाहरु र तिनका अभिभावकसँगै देउसी भैलीमा रमाइलो गरेका हुन्।

सो कार्यक्रममा पेन्सिलभेनिया राज्यका ह्यारिसवर्ग, ल्यान्कास्टर, स्क्रान्टन र पिट्सवर्ग सहरको इन्ट्रा म्युजिक स्कूलका बालबालिकाले नेपाली सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्न फाउन्डेसनले अमेरिकाका विभिन्न सहरमा सांस्कृतिक नृत्य तथा गायनका निःशुल्क कक्षाहरू सञ्चालन गरेको जानकारी दिए। ती कक्षामा नेपाली मूलका एक हजार एक सय बढी बालबालिका एवं किशोर किशोरीले नृत्य र गायन सिकिरहेको उनले बताए।

अमेरिकी संघीय संसद्का सदस्य कंग्रेसम्यान स्कट पेरीले आआफ्नो संस्कृति स्वतन्त्र र सुरक्षितरूपमा मनाउन पाउनुपर्नेमा जोड दिए। आफ्ना पूर्वज कोलम्बियाबाट आएको, आफ्ना ‘चिफ अफ स्टाफ’का पूर्वज इटलीबाट आएको बताउँदै नेपाल र भुटानबाट आएका नेपालीको सांस्कृतिक उत्सवमा भाग लिन पाउँदा खुसी लागेको उनले बताए। पेन्सिलभिनिया राज्यका सांसद डेभ म्याडसनले नेपाली मूलका बालबालिकाले प्रस्तुत गरेको आफ्नो सांस्कृतिक नृत्यले आफू प्रभावित भएको बताए।

नेपाली सांस्कृतिक नृत्य र शास्त्रीय गायन कक्षामा सम्मिलित पहिलो वर्षको परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।

प्रकाशित: १२ कार्तिक २०८१ २१:४० | Monday, October 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast