पर्यटनमा लगानी गर्न एनआरएनएसँग मन्त्री पाण्डेको आग्रह

हिमाल प्रेस १२ कार्तिक २०८१ १८:३६
12
SHARES
पर्यटनमा लगानी गर्न एनआरएनएसँग मन्त्री पाण्डेको आग्रह पर्यटनमन्त्री बद्री पाण्डे । फाइल तस्बिर

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरु संशोधनको गृहकार्य भइरहेको बताएका छन्।

गैर आवासीय नेपाली संघको आइतबारबाट शुरु वार्षिक साधारणसभाको दोस्रो दिन सोमबार राजधानीमा आयोजित ग्लोबल कन्केल्भ २०२४ लाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा लागानीका लागि सरकारले सबै वातावरण बनाउने प्रतिबद्धता पनि जनाए। ‘पर्यटन क्षेत्रमा लगानीको वातावरण हामीले बनाइदिन्छौँ। सँस्कृति र नागरिक उड्डयनको क्षेत्रमा सुधार गर्छौं। तपाईँहरुले सहयोग गर्नुहोस्। लगानीमैत्री वातावरणको भाष्य बनाउन जरुरी छ। देशभित्र र बाहिरका लगानीकर्तालाई वातावरण दिन जरुरी छ,’ उनले भने।
मन्त्री पाण्डेले उड्डयनका क्षेत्रमा नीतिगत सुधारका लागि प्रयास भइरहेको बताए।

उनले भने, ‘संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत हिसाबले सुधार गर्न कानुनका थुप्रै समसामियक मस्यौदा तयार पारेका छौँ। संसदको आगामी अधिवेशनबाट ऐनहरु आउनेछन्।’

नेपाल विविधतापूर्ण सँस्कृति र प्रकृति सम्पदाले भरिपूर्ण रहेको र नागरिक उड्डययनका क्षेत्रमा समेत अनन्त सम्भावना रहेको मन्त्री पाण्डेले बताए।

‘आकाश सुरक्षित छ, सूचारु छ भन्ने देखाउनुछ। इयुले असुरक्षित भनेको छ। सुरक्षित, गतिशील, सूचारु आकाश देखाउन सक्यौं भने देशभित्र र बाहिरका पर्यटक आउन सक्छन्,’ उनले भने।

‘विश्वका विभिन्न कुनमा रहेको नेपालीहरुको पछिल्लो पुस्तालाई जोड्ने भाषा र संस्कृतिले नै हो। आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई अधिकतम उपयोग गर्न सकियो भने नेपालसँग जोडिनुहुन्छ,’ उनले भने।

पर्यटनको क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता सरकारले बोध गरेको उनले जिकिर गरे। ‘संस्कृति र प्रकृतिको प्रवद्र्धन र आकाश सूचारु गर्ने सम्बन्धमा पनि काम गरिरहेका छौँ। सातवटा प्रदेशमा सातवटा ट्वीनेटर विमान सञ्चालन गर्ने भनेर सोचिरहेका छौं,’ उनले भने।

प्रकाशित: १२ कार्तिक २०८१ १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − five =