रवि लामिछाने। फाइल तस्बिर
पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कुनै पनि दुव्र्यवहार नगरेको जनाएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै गत ८ कात्तिकमा लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले इजलासमा आदरार्थी शब्द प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं हिरासतमा रहँदा लामिछानेलाई दुर्व्यवहार गरेको भन्ने भ्रामक, झुठा र अनुमानमा आधारित विचार सामाजिक सञ्जालमा सम्प्रेषण भएकोमा गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।
जिल्ला प्रहरी कार्यालयक तर्फबाट सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जारी गरेको उक्त विज्ञप्तिमार्फत तथ्यहीन, भ्रामक र झुठा समाचारबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देह प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमासमेत नकारात्मक प्रभाव पर्ने भएकोले तथ्यमा आधारित रहेरमात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ।
लामिछानेमाथि नेपालको संविधान एवं प्रचलित ऐन कानूनबमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यता अनशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न कास्की प्रहरी प्रतिबद्ध रहेको जनाइएको छ।
रास्वपा सभापति लामिछानेलाई गत २ कात्तिकमा सहकारी ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्न काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएको थियो। उनलाई गत बिहीबार कास्की जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि थप ७ दिनको म्याद दिएको छ। लामिछानेमाथि सम्पत्ति शुद्धिकरण मुद्दामा समेत अनुसन्धान थालिएको छ।


