सत्तारूढ दलले जारी गरे सातबुँदे वक्तव्य, रास्वपा आन्दोलनबारे के भने?

हिमाल प्रेस ९ कार्तिक २०८१ १७:४२
36
SHARES
सत्तारूढ दलले जारी गरे सातबुँदे वक्तव्य, रास्वपा आन्दोलनबारे के भने?

काठमाडौँ- सत्तारुढ सात दलले आज (शुक्रबार) सातबुँदे वक्तव्य जारी गरेका छन्। बालुवाटारमा भएको छलफलपछि नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीले संयुक्त वक्तव्य जारी गरेका हुन्।

बैठकले सरकारको सय दिन, समसामयिक मुद्दा र आगामी योजनाबारे संयुक्त वक्तव्य जारी गर्दै अवाञ्छित गतिविधिहरुप्रति सचेत र सजग रहन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ।

वक्तव्यमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति, २०८१ ले तयार पारेको सर्वसम्मत प्रतिवेदनका आधारमा अनुसन्धान र कारबाहीको प्रक्रिया सुरु भएको जनाइएको छ।

त्यस्तै भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने गतिविधि लोकतन्त्र र विधिको शासन विपरीत कुरा भएको पनि सत्तारुढ दलको ठहर छ। ‘यस्ता गतिविधिप्रति हाम्रो गम्भीर असहमति छ। सहकारीसम्बन्धी संसदीय छानबिन समितिका सबै सुझाव र निर्देशन सरकारले कार्यान्वयन गर्नेछ,’ वक्तव्यमा लेखिएको छ।

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेपछि रास्वपाले निरन्तर विरोध जनाइरहेको छ। यसअघि पोखरामा आन्दोलन गरिरहेको रास्वपाले अहिले काठमाडौँकेन्द्रित आन्दोलन गरिरहेको छ।

यस्तो छ वक्तव्यः

१. संयुक्त सरकार सञ्चालनको सय दिन पूरा भएको अवसरमा प्रधानमन्त्रीद्वारा सरकारले गरेका कामको प्रगति सार्वजनिक भएको छ। हामी सरकार साझेदार दलहरू सम्पन्न भएका र थालनी भएका राम्रा कामहरूको स्वागत गर्दछौं। र, बाँकी अवधिका लागि सरकारले तय गरेका कामका योजना प्रभावकारी ढङ्गले सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

२. शान्ति प्रकृया अघि बढेको यति लामो समय बितिसक्दा पनि संक्रमणकालीन न्यायको काम अधुरै रहनु दुःखद पक्ष हो। संक्रमणकालीन न्यायका सन्दर्भमा रहेको कानुनी जटिलतालाई वर्तमान सरकार गठन भएको छोटो समयमा सहमतिका आधारमा समाधान भएको छ। कानुनी प्रबन्धको पूर्णताका साथै दुवै आयोग गठन गर्ने प्रक्रिया प्रारम्भ भएको छ। यसले द्वन्द्वबाट प्रभावित पीडितहरूले न्याय प्राप्त गर्ने सुनिश्चितता भएको छ। आगामी दिनमा संक्रमणकालीन न्यायको काम प्रभावकारी ढंगले अघि बढाउने कुरामा सबै पक्षको सहयोग अपेक्षित छ।

३. वर्तमान सरकार गठन भएपश्चात् कानुनी सुधारका माध्यमबाट लगानीका लागि अनुकूल वातावरण सिर्जना गर्ने प्रयास भएको छ। निजी क्षेत्र आर्थिक सुधारको प्रकृयाबाट आशावादी बनेको छ। बक्यौता भुक्तानी, पुँजीगत खर्चमा भएको बृद्धि तथा राजश्व बृद्धिमा भइरहेको सुधारले अर्थतन्त्रमा सकारात्मक लक्षण देखिएका छन्। मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्न थप सुधारको आवश्यकता महसुस गरी आर्थिक सुधार कार्यदल बनाइ अघि बढ्ने काम भएको छ।

४. सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति, २०८१ ले तयार पारेको सर्वसम्मत प्रतिवेदनका आधारमा अनुसन्धान र कारबाहीको प्रक्रिया सुरु भएको छ। निर्दोष कोही नफसुन् र दोषी कोही नउम्किउन् भन्ने कुराको सुनिश्चिताको लागि अनुसन्धान, अभियोजन र न्याय निरुपणको प्रक्रियाका लागि सबै पक्षको सकारात्मक सहयोगको आवश्यकता पर्दछ। तर पछिल्ला दिनमा अनुसन्धान र अभियोजनको प्रक्रियालाई नै प्रभावित गर्ने उद्देश्यले गतिविधि सुरू भएका छन्। भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने गतिविधि लोकतन्त्र र विधिको शासन विपरीत कुरा हो। यस्ता गतिविधिप्रति हाम्रो गम्भीर असहमति छ। सहकारीसम्बन्धी संसदीय छानबिन समितिका सवै सुझाव र निर्देशन सरकारले कार्यान्वयन गर्नेछ।

५. कानुन निर्माणको काममा भएको विलम्बका कारण संघीयता कार्यान्वयन र शासकीय सुधारमा समस्या आइरहेको तर्फ ध्यान जानु आवश्यक छ। प्रस्तावित कानुनमा सहमति जुटाउनका लागि औपचारिक र अनौपचारिक छलफलको प्रक्रिया अघि बढाउँदै निजामति ऐन, शिक्षा ऐन, प्रहरी ऐन जस्ता आधारभूत कानुन निर्माणको प्रक्रियालाई तीब्रता दिन सरकारको ध्यान जानेछ। विकास निर्माण र सुशासनको प्रक्रियामा उत्पन्न कानुनी जटिलतालाई पहिचान गरी सुधारको प्रकृयालाई अघि बढाउन सात बुँदे सहमति र न्यूनतम् साझा सहमतिका आधारमा लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशीतालाई थप सुदृढ गर्दै आगामी दिनमा सरकारको कामलाई तीब्रता दिइनेछ।

६. यस वर्षको बाढी, पहिरो र डुबानका कारणले ठूलो मात्रामा धनजनको क्षति हुन पुग्यो। बाढी र पहिरोका कारणले संघीय राजधानी जोड्ने अधिकांश सडक अवरुद्ध बन्न पुगे। विपद प्रभावित क्षेत्रका ग्रामीण सडकहरु समेत अवरुद्ध भएका कारणले राहत र उद्धारको काममा प्रतिकूलता हुनु स्वभाविक हो। त्यस्का वाबजुद् उद्धार र राहत तथा अवरुद्ध सडक खुलाउन लागि सुरक्षा निकाय, प्रशासन तथा नागरिक तहबाट प्राप्त सहयोग अत्यन्त महत्वपूर्ण रह्यो। यसका लागि उद्धार र राहतको काममा जुट्नु हुने सबैलाई हामी धन्यवाद ज्ञापन गर्दछौं। भूकम्प, बाढी, पहिरो र डुबानका कारणले पुनर्स्थापना पर्खाइमा रहेका पीडित जनताका लागि राहत र पुनर्निर्माणको काम प्रभावकारी ढंगले अघि बढाउन सरोकारवाला सबै निकायलाई अनुरोध गर्दछौं।

७. छ दशक लामो राजनीतिक आन्दोलनबाट जनता सार्वभौमसत्ता सम्पन्न भएको र नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो संविधान आफै बनाएर कार्यान्वयन गरिरहेको अवस्थामा उत्पन्न समस्याको समाधान लोकतान्त्रिक विधि र प्रक्रियाबाट खोज्न सकिन्छ र खोज्नु पर्दछ भन्ने मान्यतामा हामी दृढ छौं। सोही अनुसार राजनीतिक स्थायित्वको आधार तयार गर्नका लागि सहमतिका आधारमा संवैधानिक, कानुनी र संरचनागत सुधारमा जोड दिँदै आएका छौं।

यस्तो अवस्थामा अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई बल पुर्‍याउने तथा सुशासन र विकासको नेपाली जनताको आकांक्षालाई असर पुग्ने गरी विभिन्न नाम र स्वरुपमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरु उचित होइनन्। त्यसमाथि सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन। लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र हो र सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश नै हो। त्यो भन्दा भिन्न तरिकाबाट अघि बढ्ने प्रयास लोकतन्त्रको मूल्य र मान्यता विपरित हुने कुरा स्पष्ट छ। यसप्रति सचेत र सजग रहन हामी सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछौं।

प्रकाशित: ९ कार्तिक २०८१ १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + thirteen =