विदेशमा २० वर्ष मजदुरी गरेका पाल्पाका नारायण तरकारी खेतीमा, गर्छन् लाखौं आम्दानी

हिमाल प्रेस ९ कार्तिक २०८१ ७:१० | Friday, October 25, 2024
विदेशमा २० वर्ष मजदुरी गरेका पाल्पाका नारायण तरकारी खेतीमा, गर्छन् लाखौं आम्दानी

पाल्पा- रामपुर नगरपालिका-९ का नारायण भुसालले व्यावसायिक रूपमा तरकारीखेती सुरु गरेका छन्। दुई दशक विदेशमा मजदुरी गरेका उनले रामपुर-७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर तरकारीखेती थालेका हुन्।

‘लामो समयसम्म अर्काको देशमा पसिना बगाएँ, गाउँ फर्केलगत्तै जग्गा भाडामा लिएर तरकारीखेती सुरु गरेको छु, अहिले तरकारी, रोप्ने र रेखदेखमै व्यस्त छु’, उनले भने।

उनले ३ वर्षका लागि वार्षिक ४० हजारमा जग्गा भाडामा लिएका छन्। बेमौसमी तरकारी उत्पादनलाई जोड दिएका उनले काउली, ब्रोकाउली, बन्दा, धनियाँ, मुलालगायत तरकारी रोपेका छन्।

व्यवसाय सुरु गरेको पहिलो वर्षमा नै सन्तोषजनक आम्दानी भएपछि भुसाललाई तरकारीखेतीमा उत्साह थपिएको छ। एक वर्षमा उनले चार लाख आम्दानी गरेको बताए। वार्षिक सात लाखसम्म आम्दानी गर्ने उनको लक्ष्य छ।

‘अर्काको देशमा धेरै दुःख छ, विदेशको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ, दिनमा कम्तीमा पनि १२ देखि १५ घण्टाको काम गर्नुपर्छ तैपनि कामअनुसारको पारिश्रमिक पाइँदैन,आफ्नो देशमा आनन्दले परिवारका साथमा काम गर्न पाइन्छ, यसमै आनन्द छ’, विदेशमा भोगेको अनुभव उनी सुनाउँछन्।

उद्यमी भुसाललाई आफ्ना उत्पादन बिक्रीको चिन्ता छैन। उनले उत्पादन गरेका तरकारी रामपुर बजारमा बिक्री हुने गरेको छ। व्यापारीले घरमा नै आएर खरिद पनि गर्ने गरेका छन्। उनी तरकारी मात्र नभई फलफूलका बिरुवा उत्पादन गरेर बिक्री पनि गर्छन्।

प्रकाशित: ९ कार्तिक २०८१ ७:१० | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast