पूर्वडीआईजी छविलालको बयान चलिरहँदा सहकारी पीडितको नाराबाजी

हिमाल प्रेस ६ कार्तिक २०८१ १४:१२ | Tuesday, October 22, 2024
पूर्वडीआईजी छविलालको बयान चलिरहँदा सहकारी पीडितको नाराबाजी

लुम्बिनी- सहकारी अपचलनका विषयमा पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिइरहँदा सहकारी पीडितहरूले नाराबाजीसहित प्रदर्शन गरेका छन्।

रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पीडितले मंगलबार रूपन्देही जिल्ला अदालत अघि विरोध प्रदर्शन गरेका हुन्। सुप्रिम पीडित संघर्ष समितिमार्फत् विरोध प्रदर्शन गरिएको हो।

सुप्रिम सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरु भएको छ।

सरकारी वकिल कार्यालयमा बयान भइरहँदा पीडितले अदालत अगाडि प्रदर्शन गरेका हुन्। उनीहरूले सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जीवी) लाई राजनीतिक संरक्षणमा भगाइएको आरोप उनीहरूले लगाएका छन्। अदालतअघि विरोध प्रदर्शन गरिरहेका पीडित सरकारी वकिल कार्यालय अघि जान खोज्दा प्रहरीले रोकेको छ।

वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक नेत्र बुढाले प्रहरी अनुसन्धान सुरु गरिरहेको भन्दै विरोध प्रदर्शन नगर्न आग्रह गरेका थिए। त्यसपछि पीडितले अदालत अघि नै प्रदर्शन गरेका हुन्।

बचत रकम फिर्ता गर, हाम्रो रगत–पसिनाको कमाई फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीवी राईलाई पक्राउ गर लगायतका प्लेकार्ड बोकेर पीडितले विरोध गरेका हुन् । उनीहरुले रवि लामिछाने, जोशी र जीवी राईलाई राजनीतिक संरक्षण भएको समेत आरोप लगाएका छन्।

सुप्रिम पीडित संघर्ष समितिका संयोजक विजय नेपालले न्याय, रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको जनाए। उनले आफुहरूले न्याय पाउनुपर्ने माग राखेको बताए । जोशीलाई सोमबार रूपन्देही ल्याई बयान लिईएको हो।

प्रकाशित: ६ कार्तिक २०८१ १४:१२ | Tuesday, October 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast