बाबुरामको दाबी : हामीले लिएको मार्ग सही छ, भोलि पुष्टि भएरै छोड्छ

हिमाल प्रेस ५ कार्तिक २०८१ १६:४३
42
SHARES
बाबुरामको दाबी : हामीले लिएको मार्ग सही छ, भोलि पुष्टि भएरै छोड्छ

पोखरा- नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस, एमाले, माओवादी ओह्रालो लागेको र वैकल्पिक भनिएकाहरू पनि एकपछि अर्को काण्डमा फसेको भन्दै केही वर्षभित्र देशमा आफूहरूले अग्रगामी परिवर्तन शक्ति दिनैपर्ने बताएका छन्।

पोखरामा सोमबारदेखि सुरु नेसपाको प्रथम विधान अधिवेशन उद्घाटन सत्रमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष डा. भट्टराईले सो कुरा बताएका हुन्। उनले आफूहरूले अग्रगामी वैकल्पिक शक्ति आफूहरूले निर्माण गर्ने दाबी गरे। ‘नेसपा बाबुरामको पार्टी हो भन्ने प्रचार भयो। त्यसो होइन। बाबुराम त भोलि मरेर जान्छ। वैकल्पिक शक्ति भनेको त विचार हो,’ उनले भने।

उनले आफ्नो पार्टीको घोषणापत्र नेपालका अन्य सबै पार्टीको तुलनामा उत्कृष्ट बनेको दाबी गरे। उनले भने, ‘पत्रकार साथीहरूले पनि कांग्रेस, एमाले, माओवादीको घोषणापत्र दाँजेर आपसमा बहस चलाउनुहोस्। हामीहरूको घोषणापत्र उत्कृष्ट बनेको छ।’

उनले आफ्नो निजी स्वार्थका लागि जिन्दगीमा कुनै पनि काम नगरेको दाबी पनि गरे। उनले भने, ‘बाबुराम भट्टराई अर्थमन्त्री भयो, प्रधानमन्त्री भयो, एक पैसा कसैबाट लिएर देश र जनताको अहितमा लागेको छ भनी कोही प्रमाणसहित भन्छ भने चुनौती छ, म जेल जान तयार छु।’

उनले बाबुरामको पछि लागेर दुःख पाइन्छ कि भन्ने कोही कसैलाई लागेको हुन सक्छ भन्दै अगाडि भने, ‘म छाती खोलेर भन्न सक्छु, साथीहरू हो हामीले कुनै गल्ती गरेका छैनौं। हामीले लिएको मार्ग सही छ, भोलि पुष्टि भएरै छोड्छ।’ आफूहरूले अगाडि बढाएको नयाँ शक्तिहुँदै नेपाल समाजवादी पार्टीको यात्रा सही भएको उनको जिकिर छ।

देशमा पुरानै दलको हालीमुहाली भएको टिप्पणी गर्दै एकपछि अर्को दोहोरिएर सरकार चलाउने प्रवृत्ति रहेको बताए। उनले भ्रष्टाचार नियन्त्रणका लागि एकले मात्र सम्भव नहुने उल्लेख गर्दै त्यसका लागि संस्था नै बलियो हुनुपर्ने सुझाव दिए। उनले भने, ‘कुनै पनि वीरपुरुष आएर देशको भ्रष्टाचार रोक्नेवाला छैन।’

उनले हाम्रा संस्थाहरू कमजोर छन्, विधिको शासन कमजोर छ, अर्थतन्त्र कमजोर हुँदै गएको भन्दै बलियो संस्था निर्माण गर्नुपर्नेमा जोड दिए। आफू पहिलोपल्ट अर्थमन्त्री बन्दा २०६५ सालमा ‘समृद्धि’ शब्द प्रयोग गरेको स्मरण गर्दै डा. भट्टराईले भने, ‘पहिले विकासको मूल फुटाउने भन्थे। अहिले त्यही शब्द चोरेर सबैले समृद्धि समृद्धि भन्ने गरेका छन्।’

पोखरामा २ दिनसम्म चल्ने विधान अधिवेशनमा करिब ४ सय जना प्रतिनिधिले भाग लिएका छन्। पार्टीको केन्द्रीय समिति बढीमा १ सय ५१ सदस्यीय र पदाधिकारी १३ सदस्यीय रहने प्रस्ताव गरिएको छ। पदाधिकारी १७ सदस्यीय रहने प्रस्ताव छ। केन्द्रीय समितिका पदाधिकारी र सदस्यको निर्वाचन राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू÷पार्टी सदस्यबाट प्रत्यक्ष निर्वाचनको प्रणालीद्वारा गरिने प्रस्ताव छ। उक्त प्रस्ताव पार्टीका सचिवालय सदस्य, विधान तथा घोषणापत्र मस्यौदा समिति संयोजक डा. जनक शाहले प्रस्तुत गरेका थिए।

यस्तै, पार्टीका महाधिवेशन आयोजक समिति सचिवालय सदस्य अधिवक्ता कृष्ण शर्माले विधान प्रस्तुत गरे। पोखरा सभागृहमा भएको अधिवेशन आगामी महाधिवशेनको मिति र स्थान तय, निर्वाचन आयोग गठन, सांगठानिक कार्ययोजना घोषणा गर्दै मंगलबार सकिनेछ।

प्रकाशित: ५ कार्तिक २०८१ १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =