देशलाई निकास दिन कांग्रेस-एमालेबीच गठबन्धनः प्रदीप ज्ञवाली

हिमाल प्रेस ५ कार्तिक २०८१ १५:२८ | Monday, October 21, 2024
देशलाई निकास दिन कांग्रेस-एमालेबीच गठबन्धनः प्रदीप ज्ञवाली

हुम्ला- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताएका छन्।

एमाले स्कुल विभागद्वारा हुम्लाको सिमकोटमा आजदेखि सुरु प्रशिक्षण कार्यक्रममा उनले भने, ‘देशमा अस्थिरता र भ्रष्टाचार बढ्यो, अर्थतन्त्र शिथिल हुँदा मुलुकलाई निकासा दिन एमाले र कांग्रेसबीच सहकार्य भइ सरकार बनेको हो।’ उनले वर्तमान सरकार आगामी चुनावसम्म टिक्ने समेत बताए।

उपमहासचिव ज्ञवालीले कांग्रेस र एमाले मुलुकका मुख्य प्रतिस्पर्धी पार्टी भए पनि अहिलेको सहकार्य आवश्यकताका आधारमा भएको बताए। विसं २०४७ साल यता संविधान संशोधन, विभिन्न निर्वाचनदेखि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने विषयमा पनि दुवै पार्टी मिलेको उनको भनाइ थियो।

उनले भने, ‘वर्तमान सरकार गठनपछि मुलुकमा सकारात्मक संकेत देखिएका छन्, जनतामा विश्वास बढेको छ, सहकारीमा ठगिएका पीडितका लागि न्यायका पक्षमा कारबाही सुरु भएको छ भने विकास निर्माण सुरु हुनुका साथै अन्तर्राष्ट्रियस्तरका सम्बन्ध सुदृढ भएको छ।’

उपमहासचिव ज्ञवालीले हुम्ला अपार सम्भावना बोकेको र सम्भावनाले भरिएको जिल्ला भएको बताए। उनले २४ वर्षपछि आफू यहाँ आउँदा धेरै परिवर्तन भएको पाएको बताए। उनले आफू यहाँ आएर नेपाली भूमि लिमी लाप्चाबाटै मानसरोवर कैलाशको समेत दर्शन गर्न पाएकामा खुसी व्यक्त गरे।

सदरमुकाम सिमकोट राष्ट्रिय सडकसँग जोड्ने खार्पुदोभानको कर्णाली नदीमा पक्की पुल बन्न समय लाग्ने भएकाले बेलीब्रिज पुनःनिर्माणलाई सरकारले ध्यान दिने उनको भनाइ थियो।

प्रकाशित: ५ कार्तिक २०८१ १५:२८ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast