रविले भने : यो सरकार रहेसम्म देश बन्दैन, सबैले ओली शासनको विरोध गरौँ

हिमाल प्रेस ४ कार्तिक २०८१ १३:५४
18
SHARES
रविले भने : यो सरकार रहेसम्म देश बन्दैन, सबैले ओली शासनको विरोध गरौँ

काठमाडौँ- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले केपी ओली नेतृत्वको सरकार रहेसम्म देश नबन्ने प्रतिक्रिया दिएका छन्।

शुक्रबार रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछानेलाई आज आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। सोहीक्रममा उनले ओली नेतृत्वको सरकारलाई देशैभरिबाट विरोध गर्न आह्वान गरेका हुन्।

उनले आफूलाई अदालतप्रति पूर्ण भरोसा रहेको पनि बताए। ‘मलाई न्याय अदालतले दिन्छ, तर यो सरकारको विरूद्ध देशैभरिबाट सबैजनालाई उत्रन आह्वान गर्छु। मेरो लागि होइन, मलाई त अदालतले न्याय दिन्छ,’ उनले भने, ‘अधिनायकवादी ओली सरकारका विरूद्ध देशैभरि देशका लागि बाहिर निस्कने बेला आउन सक्छ। केपी ओलीको शासन सत्ता रहेसम्म, यो सरकार रहेसम्म यो देश बन्दैन’ उनले भने।

उनले केपी ओली सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको व्यक्ति भएको पनि आरोप लगाए। उनले भने, ‘मलाईजस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस हो। ओली देशको प्रधानमन्त्री भएकोमा दुर्भाग्य हो।’

पोखरा केन्द्रीय कार्यालय रहेको सुदर्शन सहकारीसहित विभिन्न सहकारीको रकम गोर्खा मिडियामा आएको र उक्त रकम खर्च गरेर लामिछानेले दुरुपयोग गरेको आरोप छ। उनीमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनेको थियो। एमालेका सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सहकारीबाट रकम ल्याउन लामिछानेको भूमिका नभएको तर सहकारीबाट आएको रकम खर्च भने गरेको निष्कर्षसहित आवश्यक कारबाहीको लागि सिफारिस गरेको थियो।

प्रकाशित: ४ कार्तिक २०८१ १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + one =