भारतले भन्यो, दुईपक्षीय सम्बन्ध बिग्रनुमा क्यानडाका प्रधानमन्त्री जिम्मेवार

हिमाल प्रेस १ कार्तिक २०८१ ८:२९
18
SHARES
भारतले भन्यो, दुईपक्षीय सम्बन्ध बिग्रनुमा क्यानडाका प्रधानमन्त्री जिम्मेवार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी।

काठमाडौँ-  भारतले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले भारतीय कूटनीति अधिकारीहरूमाथि लगाइएको आरोप निराधार रहेको दाबी गरेको छ। भारतीय कूटनीतिक अधिकारीहरूमाथि लगाइएको आरोपका सम्बन्धमा कुनै प्रमाण पेस गर्न नसकेको भारतीय परराष्ट्र मन्त्रालयले दाबी गरेको हो।

भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबार वक्तव्यमार्फत भने, ‘आज हामीले जुन कुरा सुनेका छौँ, त्यसले पुष्टि गर्छ कि क्यानडाले भारत र भारतीय कूटनीतिक अधिकारीमाथि लगाएको आरोप पुष्टि गर्न कुनै पनि प्रमाण पेस गरेको छैन।’ क्यानडाको यस्तो लापरबाहीपूर्ण व्यवहारले भारत-क्यानडा सम्बन्धमा क्षति पुर्‍याएको जयसवालले बताए। उनले यसमा क्यानडाका प्रधानमन्त्री ट्रूडो जिम्मेवार रहेको बताए।

ट्रूडोले हरदीपसिंह निज्जरको हत्यामा भारतीय सरकारी एजेन्टहरूको संलग्नता रहेको बताउँदै आएका छन्। यसमा कुनै प्रमाण दिन नसकेको भारतीय पक्षको भनाइ छ।
पछिल्लो समय भारत–क्यानडाबीच तिक्तता बढेको छ।
सिख पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्या प्रकरणलाई लिएर भारत र क्यानडाको सम्बन्ध निरन्तर बिग्रँदै गएको हो। पछिल्ला दिनमा दुई देशले आफ्ना कूटनीतिक अधिकारीहरूलाई धमाधम फिर्ता गर्न थालेका छन्।
भारतले सोमबार आफ्ना उच्चायुक्त सञ्जय बर्मासहित अन्य कूटनीतिज्ञलाई क्यानडाबाट फिर्ता बोलाउने घोषणा गरेको छ। यसैगरी भारतले क्यानडाका छजना कूटनीतिज्ञलाई निष्कासित गरिसकेको छ। क्यानडाले पनि भारतीय कूटनीतिक अधिकारीहरूलाई देशनिकाला गरेको जनाएको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ओटावामा पत्रकार सम्मेलन गर्दै क्यानडा सरकारले छजना भारतीय कूटनीतिज्ञलाई निष्कासित गरेको जानकारी दिएका हुन्। हरदीपसिंह निज्जरको हत्या प्रकरणमा भारत सरकारले सहयोग नगरेको आरोप प्रधानमन्त्री ट्रुडोको छ। उनले भारतलाई छानबिनमा पूर्ण रूपमा सहभागी हुन र भ्रामक प्रचारमा नलाग्न अनुरोध गरेका छन्।

प्रधानमन्त्री ट्रुडोले भारत सरकारका एजेन्टहरू हिंसासँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोपमा भइरहेको आपराधिक छानबिनमा सहयोग गर्न नयाँदिल्लीले अस्वीकार गरेको दाबी गरेका छन्। उनले भने, ‘भारतले क्यानाडाको भूमिमा क्यानाडाली नागरिकविरुद्ध आपराधिक गतिविधिको समर्थनमा सहभागी हुन सक्छौँ भनेर गल्ती गरेको छ।’

ट्रूडोले क्यानाडाली प्रहरी रोयल कनेडियन माउन्टेड पुलिस (आरसीएमपी) का प्रमुखको दाबीपछि यस्तो अभिव्यक्ति दिएका थिए। आरसीएमपीका प्रमुख माइक डुहेमले भारत सरकारले क्यानाडामा ‘ठूलो मात्रामा हिंसा’ फैलाउन भूमिका खेलेको आरोप लगाएका छन्। उनले भने, ‘जसमा हत्या पनि समावेश छ र यो सार्वजनिक सुरक्षाका लागि गम्भीर खतरा हो।’

गत वर्ष क्यानडाका प्रधानमन्त्री ट्रूडोले क्यानडाली सिख पृथकतावादी निज्जरको हत्या प्रकरणमा भारतीय एजेन्टहरूको संलग्नता रहेको आरोप लगाएका थिए। यस्तो आरोपलाई भारतले खारेज गरेको थियो। त्यसपछि दुवै देशबीचको सम्बन्ध बिग्रन थालेको हो। पछिल्ला दिनमा भारतविरुद्ध क्यानडा कडा रूपमा प्रस्तुत भइरहेको छ। ट्रूडोले क्यानडाली भूमिमा हिंसाको निन्दा गरेका छन्। हिंसात्मक गतिविधि अस्वीकार्य रहेको उनको भनाइ छ।

ट्रुडोले पत्रकार सम्मेलनबाहेक आफ्नो कार्यालयबाट एक वक्तव्य पनि जारी गरेका छन्। उनले भनेका छन्, ‘आरसीएमपी र राष्ट्रिय सुरक्षाका अधिकारीहरूले भारत सरकार र भारतीय कानुनी एजेन्सीसँग काम गर्न धेरै प्रयास गरे तर उनीहरूले निरन्तर इन्कार गर्दै आए। यसै कारणले यस सातामा क्यानडाली अधिकारीहरूले एक अभूतपूर्व कदम उठाए।’

भारतले सोमबार क्यानडाबाट आफ्नो उच्चायुक्त सञ्जयकुमार बर्मा र अन्य कूटनीतिज्ञहरूलाई फर्काउने निर्णय गरेको छ। यससँगै भारतले क्यानडाका छजना कूटनीतिज्ञहरूलाई निष्कासन गर्ने निर्णय गरेको छ। यी कूटनीतिज्ञहरूमा स्टिवर्ट रस ह्विलर (कार्यकारी उच्चायुक्त), पैट्रिक हेबर्ट (उप-उच्चायुक्त), मैरी कैथरिन जली (प्रथम सचिव), इआन रस डेविड ट्राइट्स (प्रथम सचिव), एडम जेम्स चुइपका (प्रथम सचिव, र पाउला ओर्जुएला (प्रथम सचिव) छन्। भारतीय परराष्ट्र मन्त्रालयले उनीहरूलाई १९ अक्टोबरमा रातको ११:५९ बजेसम्म भारत छोड्न भनेको हो।

भारतीय परराष्ट्र मन्त्रालयले भनेको छ, ‘ट्रुडो सरकारको रबैयाका कारण भारतीय कूटनीतिज्ञहरूको सुरक्षा खतरामा परेको छ। हामीलाई वर्तमान सरकारमा कुनै भरोसा छैन। यसैलाई ध्यानमा राख्दै भारत सरकारले क्यानडाबाट आफ्नो उच्चायुक्तसहित अन्य कूटनीतिज्ञहरूलाई फर्काउने निर्णय गरेको छ। हामीले क्यानाडालाई जानकारी गराएका छौँ कि ट्रुडो सरकार जसरी भारतविरुद्ध पृथकतावाद र अतिवादलाई समर्थन गर्दैछ, त्यसविरुद्ध भारतसँग जवाफ दिने अधिकार छ।’

निज्जरको हत्या मामिलामा भारतीय उच्चायुक्तको नाम लिइएकोमा भारतीय परराष्ट्र मन्त्रालयले कडा आपत्ति जनाएको छ। भारतले अब यो मुद्दा राजनीतिसँग जोडिएको दाबी गरेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले धेरै चुनौतीहरूको सामना गरिरहेको भारतीय पक्षको भनाइ छ।

हरदीपसिंह निज्जरको १८ जुन २०२३ मा एक गुरुद्वाराको पार्किङमा गोली हानी हत्या भएको थियो। निज्जर क्यानडाको भ्यानकुबरस्थित गुरु नानक सिख गुरुद्वाराका अध्यक्ष थिए। उनी जालन्धरको गाउँ भारसिंहपुराको बासिन्दा थिए। भारत सरकारका अनुसार निज्जर खालिस्तान टाइगर फोर्सका प्रमुख थिए।

१८ सेप्टेम्बरमा क्यानडाको संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री ट्रूडोले निज्जरको हत्यापछि ‘भारत सरकारको सम्भावित संलग्नतासम्बन्धी आरोपहरूको’ अनुसन्धान भइरहेको जानकारी दिएका थिए। त्यसपछि अक्टोबर २०२३ मा भारतले ४० क्यानाडियन कूटनीतिज्ञहरूको कूटनीतिक सहुलियत रद्द गरेको थियो। जसका कारण दिल्लीस्थिति क्यानाडियन दूतावासका करिब दुईतिहाई कर्मचारीले भारत छोड्नुपरेको थियो।

मे २०२४ को पहिलो साता क्यानडाका प्रधानमन्त्री ट्रूडोले पुनः निज्जरको हत्या र भारतसँगका सम्बन्धबारे अभिव्यक्ति दिएका थिए। त्यसमा भारतले आपत्ति जनाएको थियो। भारतीय परराष्ट्र मन्त्रालयले सोमबार छजना क्यानडाली कूटनीतिकहरूलाई निष्कासित गरेपछि थप कदम उठाउने चेतावनी दिएको छ। मन्त्रालयले कदम कस्तो प्रकारका हुनेछ भनेर केही खुलस्त पारेको छैन।

प्रकाशित: १ कार्तिक २०८१ ८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + four =