धरानका मेयर साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएपछि चौतर्फी आलोचना

हिमाल प्रेस ३० असोज २०८१ १८:३०
42
SHARES
धरानका मेयर साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएपछि चौतर्फी आलोचना

इटहरी – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपमेयर आइन्द्रविक्रम बेघा हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि चौतर्फी आलोचना सुरु भएको छ।

आफू बेलायत जाने भएपछि मेयर साम्पाङले २३ असोजबाट लागू हुनेगरी धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन्।

स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को (क) १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यवाहक दिनुपर्ने व्यवस्था छ। तर, मेयर साम्पाङले कानुनको धज्जी उडाउँदै वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि चौतर्फी आलोचना भएको हो।

यसैबीच यहाँका ६ वटा राजनीतिक दलले यसबारे विरोध जनाएका छन्। बुधबार ६ राजनीतिक दलले सामूहिक प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।

नेकपा एमालेका नगर अध्यक्ष हर्कजंग एभेङ, माओवादी केन्द्रका अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), जनता समाजवादी पार्टीका अध्यक्ष ताजुव लिम्बू, नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष रेवतरमण राई, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति राम कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टीका संयोजक नरेश शाक्यले संयुक्त विज्ञप्ति जारी गर्दै उपप्रमुख स्वतः कार्यवाहक प्रमुख हुने ऐनको व्यवस्था रहेको दाबी गरेका हुन्।

‘धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई केही समयका लागि धरान बाहिर जाने क्रममा गैरकानुनी रूपमा ११ नं. वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक पत्र थमाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा १६ को उपदफा ४ क १२ मा ‘सात दिन भन्दा बढी समय गाउँपालिका अध्यक्ष वा नगरपालिकामा नगर प्रमुख अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ भन्ने स्पष्ट व्यवस्था रहेको छ।’

ऐनमा भएको उपप्रमुखको अधिकारलाई उल्लंघन गर्दै गैरकानूनी रूपमा वडाध्यक्षलाई कार्यवाहक दिइएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘ऐनले व्यवस्था गरेको उप प्रमुखको अधिकारलाई उल्लंघन गर्दै गैरकानुनी रूपमा प्रमुख र उपप्रमुख पदको गरिमामाथि आँच आउने गरी नगर प्रमुख हर्कराज राईले उपप्रमुख पदलाई अपमानित गर्ने अत्यन्तै नीच कार्य गरेको हाम्रो ठहर छ।’

नगर प्रमुखको तहबाट गैरकानुनी र अराजक गतिविधिहरू नगर्न सचेतसमेत गराइएको छ।

प्रकाशित: ३० असोज २०८१ १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twenty =