विधान अधिवेशनमा जुट्यो नेसपा, तल्लो तहसम्म मस्यौदा पठाइयो

रमेश दवाडी १ कार्तिक २०८१ १८:४६
494
SHARES
विधान अधिवेशनमा जुट्यो नेसपा, तल्लो तहसम्म मस्यौदा पठाइयो

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) पहिलो विधान अधिवेशनको तयारीमा जुटेको छ। अन्तरिम विधान परिमार्जन गर्न ६ सदस्यीय विधान मस्यौदा समितिबाट प्रस्तावित विधान मस्यौदा तयार गरी पार्टीको तल्लो तहसम्म पठाइएको हो।

उक्त मस्यौदामाथि कार्यकर्ताको सुझाव संकलन गरी प्रतिनिधिले अधिवेशनमा राख्ने नेसपा प्रवक्ता कृष्ण शर्माले जानकारी दिए। विधान अधिवेशन आगामी कात्तिक ५ र ६ गते पोखरामा हुँदैछ। अधिवेशनमा पाँच सय प्रतिनिधि सहभागी हुनेछन्।

प्रवक्ता शर्माले ७७ वटै जिल्लामा अधिवेशन प्रतिनिधि चुन्ने काम सकिएको बताए। अधिवेशनले पार्टीको संगठनात्मक संरचना, नेतृत्व प्रणाली, सिद्धान्त टुंग्याउनेछ। शर्माले भने, ‘विधान अधिवेशनबाट महाधिवेशन प्रक्रिया सुरु हुन्छ। पार्टीको संगठनात्मक संरचना, नेतृत्व प्रणाली, संगठनको विधि, सिद्धान्त के हुने ती सबै अधिवेशनले टुंग्याउँछ। विधान मस्यौदामाथि छलफल हुन्छ। घोषणापत्र पनि पास हुन्छ। विधान अधिवेशनको आलोकमा महाधिवेशन गर्छौँ।’

प्रस्तावित विधान मस्यौदामा के छ?

डा.जनकराज शाह (संयोजक), डा. एमपी रिजाल, दुर्गा सोब, हिसिला यमी, कृष्ण शर्मा र हेमबहादुर थापा सदस्य रहेकाे विधान मस्यौदा समितिले ५२ पृष्ठको मस्यौदा तयार गरेकाे छ। १९ परिच्छेद रहेको मस्यौदामा संगठनात्मक सिद्धान्त र प्रतिबद्धताका रूपमा पार्टीका सबै तहका कार्यकारी पदमा सदस्यहरूको प्रत्यक्ष मताधिकारद्वारा निर्वाचित हुने, एक व्यक्ति एक कार्यकारी पद र अधिकतम दुई कार्यकाल कडाइपूर्वक पालना गरिने, निर्वाचित कुनै पनि पदाधिकारीले बाचा गरेअनुसार काम नगरेमा वा विधानको पालना नगरेमा र पार्टी हितविपरीत काम गरेमा फिर्ता बोलाउने अधिकार हुनेछ उल्लेख छ।

पार्टीलाई शक्तिपृथकीकरणको सिद्धान्तअनुसार सञ्चालन गरिने प्रस्तावित मस्यौदामा उल्लेख छ। पार्टीका सबै तहमा शक्तिको विकेन्द्रीकरण गरेर केन्द्रीय कमिटी मूलतः नीति निर्देशक, अनुगमनकर्ता र अन्तरप्रदेश समन्वयकारी भूमिकामा रहने बताइएको छ।

प्रादेशिक कमिटीलाई कार्यकारी बनाइने, प्रदेश पार्टी विधान र मूलनीतिको मातहत कार्यकारी अधिकारका हिसाबले स्वायत्त हुने, जिल्ला तह मूलतः समन्वय समितिका रूपमा रहँदा यसले जिल्लाअन्तर्गतका स्थानीय तहका पार्टी कामको समन्वय गर्ने, स्थानीय तह कार्यकारी हुने, समिति भद्दा, ठूला र अव्यवस्थित नभई चुस्त, साना र व्यवस्थित हुने विधान मस्यौदामा उल्लेख छ।

पार्टीलाई उत्पादनमा आधारित पारदर्शी पार्टी बनाइने प्रस्ताव मस्यौदामा गरिएको छ। उत्पादनमा आधारित पारदर्शी पार्टी निर्माण गर्ने र सुशासनलाई पार्टीभित्रैबाट सुनिश्चित गर्न जिल्ला तहसम्मका सदस्यको सम्पत्ति विवरण तहगत रूपमा पार्टीले राख्ने र यस्तो विवरण आवश्यकताअनुसार अद्यावधिक र सार्वजनीकरण गर्ने नेसपाले आफ्नो विधान मस्यौदामा उल्लेख गरेको छ।

विधान अधिवेशन पोखरामै किन?

अन्य राजनीतिक पार्टी विधान अधिवेशन, महाधिवेशन कार्यक्रमका लागि काठमाडौँ र ललितपुर रोज्दा नेसपाले भने विधान अधिवेशनका लागि पोखरा रोज्यो। पार्टीका सबै नेताको सहमतिमै पोखरा छनोट गरिएको नेसपा महाधिवेशन आयोजक समिति सचिवालय सदस्य भक्तबहादुर शाहले बताए।

नेताहरूका अनुसार केन्द्रमा मात्रै कार्यक्रम राख्दा प्रदेशलाई मौका नदिएकोजस्तो भएर गण्डकी प्रदेशको राजधानी पोखरामा विधान अधिवेशन कार्यक्रमस्थल छनोट गरिएको हो। ‘पार्टी केन्द्रमा मात्रै कार्यक्रम राख्दा प्रदेशलाई मौका नदिएकोजस्तो हुने भयो। पर्यटकीय नगरी पोखरामा वैचारिक काम गर्ने भनेर पोखरा नै रोज्यौँ,’ प्रवक्ता शर्माले भने।

‘बाबुरामको बाटो नै अनिवार्य आवश्यकता’ 

शाहले विधान अधिवेशनमा वैचारिक दृष्टिकोणमा विशेष जोड दिइने बताए। देशमा वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा समस्या देखापरेको शाहको भनाइ छ। उनका अनुसार विभिन्न नयाँ पार्टीमा दृष्टिकोणको अभाव रहेको, भन्ने एउटा अनि गर्ने अर्को प्रवृत्ति देखिएको छ।

नेसपा विभिन्न राजनीतिक उताचढाबबीच यहाँसम्म आइपुगेको बताउँदै शाहले भने, ‘समस्या समाधान गर्न दृष्टिकोण स्पष्ट हुनुपर्‍यो। हामीले वैचारिक दृष्टिकोणमा विशेष जोड दिएका छौँ। राजनीतिक, सांगठनिक रूपमा प्रस्ट गर्दै व्यावहारिक रूपमा लैजान भन्ने हो। भेलाले केही संशोधन पनि गर्ला।’

उनले महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराईले लिएको बाटो नै अनिवार्य आवश्यकता छ भन्ने विश्वास रहेको पनि बताए। उनले भने, ‘बाबुरामजीले लिएको बाटो अनिवार्य आवश्यकता छ भन्ने विश्वास छ।’

आफ्नो खर्च आफैँ

नेसपाले विधान अधिवेशनका लागि चन्दा मागेको छैन। प्रवक्ता शर्माले अधिवेशनमा सहभागी प्रतिनिधिले आफ्नो खर्च आफैँले बेहोर्नुपर्ने बताए। उनले भने, ‘दुई दिन बसाइका लागि प्रतिव्यक्ति पाँच हजार रुपैयाँ खर्च हुन्छ। आफ्नो खर्च आफैँ बेहोर्ने भन्ने छ।’

प्रचारप्रसारमा लाग्न निर्देशन

नेसपा प्रचारप्रसार तथा आईटी विभाग प्रमुख मानुषी यमि भट्टराईले विधान अधिवेशनको प्रचारप्रसारमा लाग्न पार्टीको प्रचार तथा आईसीटी वर्किङ टिमलाई निर्देशन दिएकी छन्।

विधान अधिवेशनको नाराका रूपमा ‘नेसपाको मूलमन्त्र, समानुपातिक समावेशी लोकतन्त्र,’ ‘नेसपाको प्रथम विधान सम्मेलन भव्य रूपमा सफल पारौँ,’ ‘आफ्नो नेता आफैँ चयन गर्छौँ,’ आफ्नो कार्यकारी प्रमुख आफैँ चयन गर्छौं, देशको मुहार फेर्छौँ’,घरघरमा वैकल्पिक शक्ति, गाउँ टोलमा विकास र समृद्धि,’ देशमा छ वैकल्पिक शक्तिको खाँचो, हुनुपर्छ सबै अब चनाखो’ तय गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =