दसैँ : ‘यातायात व्यावसायीले बढी भाडा लिए सिधै प्रहरीलाई फोन गर्नुहोस्’

हिमाल प्रेस २१ असोज २०८१ ६:३२
16
SHARES
दसैँ : ‘यातायात व्यावसायीले बढी भाडा लिए  सिधै प्रहरीलाई फोन गर्नुहोस्’ दसैँका बेला काठमाडौँबाट आफ्नो थातथलो फर्कन लागेका सर्वसाधारण। फाइल तस्बिर

सिन्धुली- दसैँका बेला यातायात व्यावसायीले यात्रुसँग बढी भाडा लिए सिधै प्रहरीलाई फोन गर्न सकिने जनाइएको छ। जसका लागि १०० नम्बरमा फोन गर्न सकिनेछ।

विभिन्न छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वका लागि लामो तथा छोटो दुरीका यात्रुको सुरक्षित यात्रा र ट्राफिक सचेतनाका लागि आइतबार यात्रु सहायता कक्ष स्थापना गरिएको हो।

चाडपर्वमा हुनसक्ने लुटपाट नियन्त्रण गर्ने, मदिरा तथा लागुऔषध सेवन गरी सवारी चलाउन रोक लगाउने, बढी भाडा लिने तथा यात्रामा अप्ठ्यारो पार्नेलाई कानुनको दायरामा ल्याउने, आपतकालीन अवस्थामा यात्रुलाई तत्काल सहायता गर्न सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।

उनका अनुसार सदरमुकाम सिन्धुलीमाढीस्थित बसपार्क, खुर्कोट बजार, कपिलाकोटको छाप, भिमान, दुधौली बजार र डकाहामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। ती सहायता कक्षमा २२ प्रहरीले २४सै घण्टा यात्रुलाई आवश्यकता बमोजिम सेवा प्रवाह गर्ने उनले बताए।

उनले भने,‘सवारीसाधन र यात्रुको बढी भीडभाड हुने चोकमा यात्रु सहायता कक्ष स्थापना गरेर यात्रुलाई प्रभावकारी सेवा प्रदान गर्न प्रहरी खटिएका छन्। यात्राका क्रममा कुनै समस्या आइपरे वा गुनासो भए सिधै प्रहरीलाई फोन गर्नुहोस् अथवा आफूलाई पायकपर्ने सहायता कक्षबाट सहयोग लिनुहोस्।’

प्रकाशित: २१ असोज २०८१ ६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast