लाभग्रही पहिचान भएको तीन दिनभित्र रकम उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ : गृहमन्त्री

हिमाल प्रेस १९ असोज २०८१ १७:२५
6
SHARES
लाभग्रही पहिचान भएको तीन दिनभित्र रकम उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ : गृहमन्त्री गृहमन्त्री रमेश लेखक

काठमाण्डौं – गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान प्रभावित जिल्लाका पालिकाहरुलाई चाँडो भन्दा चाँडो लाभग्रही परिचालन गरी पठाउन आग्रह गरेका छन्।

शनिबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लाभग्रही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सक्ने बताए। उनले विपद्मा ठुलो जनधनको क्षति भएकोमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए।

‘मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लामा रकम पठाएर घरमै पुगेर वितरण गरिरहेका छौँ,’ गृहमन्त्री लेखकले भने, ‘घाइतेहरुको पनि अस्पतालमा निःशुल्क उपचार अघि बढेको छ।’

विपद् संकटग्रस्त क्षेत्र घोषणा सरकारले गरिसकेको बताउँदै उनले त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रित गरेको जानकारी दिए।

‘उद्धार, राहत र पुर्नस्थापनाका सवालमा सरकारी गम्भीर भएर अघि बढेको छ,’ उनले भने, ‘पूर्ण रुपमा घर क्षति भएका पीडित नागरिकहरुलाई तत्काल अस्थायी घरबास बनाउन रकम निकासा गर्ने कुरा अगाडि बढेको छ।”

ग्रामीण भेगमा नागरिकहरुको स्वास्थ्य उपचारका लागि आपतकालीन हेलि उद्दार तथा संरक्षणको मागसहित एक महिनाअघि आमरण अनसन पसेका तेह्रथुमका ४२ बर्षीय दीपक सिलवाललाई शनिबार गृह मन्त्रालयमा सहमतीपछि अनशनरत सिलवाललाई जुस खुवाएर अनशन अन्त्य गराउने क्रममा गृहमन्त्री लेखकले अनशनरत सिलवालले उठाएका विषय सरकारले गम्भीर रुपमा लिएको बताए।

‘हवाई उद्दारलाई प्रभावकारी बनाउने विषयमा सरकारको ध्यान गएको छ,’ उनले भने, ‘यो विषयलाई थप गम्भीर रुपमा लिएर सरकारले यस सम्बन्धी कार्यविधि संशोधन सिलवालजीका कुरा समेटेर गर्ने छौँ।’

प्रकाशित: १९ असोज २०८१ १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =