त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा ‘मालबाहक सवारी’ रोक

हिमाल प्रेस १९ असोज २०८१ ९:३३
4
SHARES
त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा ‘मालबाहक सवारी’ रोक फाइल तस्बिर।

काठमाडौँ- त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारी जामको समस्या कम गर्न आजदेखि निर्माण सामग्री बोकेका ठूला मालवाहक सवारी राजधानी प्रवेशमा रोक लगाईएको छ ।

दसैँ सुरु भएकाले काठमाडौँबाट पर्व मनाउन बाहिरिने यात्रुको चाप अत्याधिक छ। यात्राका क्रममा सवारी जामका कारण यात्रुले सास्ती खेप्नु नपरोस् भन्ने उद्देश्यले टेलर लगायतका सवारी राजधानी प्रवेशमा रोक लागाइएको हो।

यस वर्ष गत वर्षको दसैँमा भन्दा पृथ्वी राजमार्ग हुँदै राजधानी बाहिरिने र राजधानी भित्रने सवारीका साधनहरूको चाप दोब्बरले वृद्धि भएको छ। बीपी राजमार्ग गत साताको बाढी र पहिरोका कारण बिग्रिएपछि पूर्वी नेपालको अधिकांश जिल्लाहरू र मधेस प्रदेश क्षेत्रमा जाने सवारीका साधनहरुले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ नै प्रयोग गरेका छन् ।

विशेष गरी चितवनको नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलरसहितका ठूला सवारी सञ्चालनमा रोक लगाउने निर्णय यातायात व्यवस्था विभागले गरेसँगै स्थानीय प्रशासनले सोको कार्यान्वयन गरेको हो ।

घटस्थापनादेखि कात्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो । यात्रुवाहक गाडीलाई प्राथमिकता दिने गरी ठुला गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो । औषधि र तरकारीलगायत दूध बोकेका बाहेक अन्य ठूला गाडी आउँदो कार्तिक १ गतेसम्म बन्द रहने छ ।

प्रकाशित: १९ असोज २०८१ ९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + one =