रामनाथ अधिकारी
काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा प्रभाव पारेको बताएका छन्।
ईसीमोडले मंगलबार ललितपुरमा गरेको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री अधिकारीले वर्तमान समयको महत्वपूर्ण चुनौती ‘जलवायु परिवर्तनको सामनामा पर्वतीय खाद्य प्रणालीको दिगोपन’ लाई सम्बोधन गर्न सबै एकै ठाउँमा उभिनुपर्ने आवश्यकता औल्याए।
नेपालको पहाडी पारस्थितिक प्रणालीको समृद्ध विविधताले लाखौँको जीविकोपार्जनलाई सहयोग पुर्याएको चर्चा गर्दै मन्त्री अधिकारीले साना तथा सिमान्त कृषकले राष्ट्रिय खाद्य सुरक्षाको लागि महत्त्वपूर्ण योगदान गरेको बताए।
नेपालका विविध कृषि-जलवायु क्षेत्र, समृद्ध पारिस्थितिक क्षेत्र र कृषि जैविक विविधताले खाद्य र पोषण सुरक्षा, कृषि उत्पादकत्व वृद्धि र ग्रामीण जीवनस्तरमा सुधार ल्याउन अपार सम्भावनाहरू प्रदान गरे पनि हामीले दबाबपूर्ण चुनौतीहरूको सामना गर्नुपरिरहेको मन्त्री अधिकारीले उल्लेख गरे।
जलवायु परिवर्तनबाट परेको प्रभावहरूको सामना गर्न सरकारले प्रकृति मैत्री, विशिष्टिकृत, सरल, मापनयोग्य र दिगो समाधानका उपाय अपनाउन दृढ संकल्प गरेको भन्दै मन्त्री अधिकारीले कृषि प्रणालीमा प्रारम्भिक चेतावनी प्रणाली (अर्ली वार्निङ्ग सिस्टम)को विकास गरी कार्यान्वयन गर्न मन्त्रालय सक्रिय भई लागेको बताए।
जलवायु परिवर्तनका असरको न्यूनीकरणका क्षेत्रमा नेपालमा विद्यमान संभावानको खोजी तथा सदुपयोग गर्न, प्रविधि विकास तथा हस्तान्तरण गर्न र साझेदारी तथा सहकार्य मार्फत नेपालको खाद्य सुरक्षामा सम्मेलन महत्त्वपूर्ण हुने ईसीमोडले जनाएको छ।



