विपद् : ‘होलिडे’ मा रमाइरहेका ओली र चनिकलालले दिएको झापड

हिमाल प्रेस १३ असोज २०८१ २२:०३
18
SHARES
विपद् : ‘होलिडे’ मा रमाइरहेका ओली र चनिकलालले दिएको झापड बाढीपहिरोमा परेका नागरिकको उद्धारमा खटिएका सुरक्षाकर्मी।

काठमाडौँ- मुलुकमा प्राकृतिक प्रकोप आउने निश्चित थियो। जल तथा मौसम पूर्वानुमान महाशाखाले चारपाँच दिनअघि देशमा ठूलो वर्षाको सम्भावना रहेकाले बाढीपहिरो जानसक्ने भनेर सचेत गराइसकेको थियो। गृह मन्त्रालयका साथै अन्य सरोकारवाला निकायहरूले वर्षा, बाढीपहिरोलगायतका प्राकृतिक विपद्बाट जोगिन सतर्कता अपनाउन सर्वसाधारणलाई निरन्तर अनुरोध गरिरहेका थिए।

मौसम पूर्वानुमान महाशाखाबाटै भनिसकिएपछि भारी वर्षा हुनेमा शंका थिएन।  वर्षा, बाढीपहिरो भूकम्पजस्तो होइन, विना जानकारी आउने। यसको जानकारी पहिले नै थियो। क्षति कुन स्तरको भन्ने मात्र हो, ठूलै क्षति हुनेगरी वर्षा हुने निश्चत थियो।

आमनागरिकलाई सतर्कता अपनाउन निरन्तर सचेत गराउन मातहतका निकायलाई घचघच्याइरहेकै सरकार भने आफैँ तयारीमा चुकेकाे छ। मौसम पूर्वानुमानअनुसार सरकार तयारीमा चुक्दा अनाहकमा करिब दुई सय नेपालीले ज्यान गुमाउनुपरेकाे छ।

सरकार प्रमुख अर्थात् प्रधानमन्त्री खड्गप्रसाद ओली न्युयाेर्कमा साताव्यापी ‘होलिडे’ मा छन्। परराष्ट्रमन्त्री तीन साता लामो ‘होलिडे’ मा निस्केकाे प्रधानमन्त्री भन्दाअगाडि नै हाे। उनीहरु जानुपूर्व जल तथा मौसम विभागले मुलुकमा यस्तो अवस्था आउन लागेको पूर्वानुमान गरिसकेकै थियो। त्यसमा सतर्कता अपनाउने विषयमा सरकारले कत्ति पनि ध्यान नदिएको स्पष्ट हुन्छ।

प्रधानमन्त्री औचित्यहीन भ्रमणमा रमाएका छन्। राष्ट्रसंघ महासभाजस्तो कुम्भमेलामा गएर राजतन्त्रात्मक मुलुकका नेतासँग हात मिलाउने कामबाहेक अन्य उपलब्धि उनीबाट भएको देखिँदैन।

कोलम्बियामा विश्वविद्यालयमा एउटा प्रश्नकाे अर्को उत्तर दिएर चिप्लिकसेका प्रधानमन्त्री ओलीलाई हार्वर्डमा पुर्‍याएर प्रवचन दिन लगाउनुको कुनै तुक छैन। मुलुक डुबेको छ। उनी अमेरिकामा महावाणिज्यदूतावासमा झन्डोत्तोलन गरेर बसेका छन्। पहिले खुलिसकेको वाणिज्यदूतावासको पुनः उद्घाटन गर्नु व्यर्थ हो। यसबाट ओलीको स्तर झल्किन्छ।

अन्य देशका नेताहरू दुई दिनमा फर्केको देख्दादेख्दै प्रधानमन्त्री ‘होलिडे’ मा रम्नु पनि राज्यसत्ताको दुरुपयोग हो। यसले पनि सरकार असंवेदनशील, अकर्मण्य, अक्षम, असफल साबित भएको देखिन्छ। राज्यमा सरकारबाट नागरिकको अभिभावकीय भूमिकाको अपेक्षा गरिएको अवस्थामा उल्टै अभिभावक मुलुकमा केही नभए झैँ अमेरिका घुमफिर गरिरहेका छन्।

नेपाल प्रहरीका प्रमुख वसन्त कुँवर र राष्ट्रिय अनुसन्धानका प्रमुख पनि पनि घुमफिरमा छन्।नख्खु खाेलामा बगेकाहरूकाे उद्धार गर्न सकेनाैँ  भनेका गृहमन्त्री रमेश लेखकलाई दुईजनाकाे उद्धार गरेर चनिकलाल तमाङले गतिलाे झापड  दिएका छन्।

दसैँकाे मुखमा अएकाे याे प्राकृतिक विपद्का कारण गाउँतर्फ जानेहरू अलमलमा छन्। एयरलाइन्स कम्पनीहरूले मौकाकाे फाइदा उठाउँदै यात्रुहरूबाट अधिकतम भाडा लिइरहेका छन्। सरकार भने विज्ञप्ति निकालेर बढी भाडा नलिन एयरलाइन्स कम्पनीहरूसँग अनुनयविनय गरिरहेको छ। सरकारकाे अनुनयविनयपछि एयरलाइन्स कम्पनीहरूले तीन दिन अधिकतम भाडा नलिने निर्णय गरेको छ। याे अवधिका सबै ठाउँका टिकटहरू बुकिङ भइसकेको छ। कहीँकतैकाे जहाजकाे टिकट खाली छैन।

जहिले पनि विपद् परिसकेपछि मात्र विपद्का लागि आवश्यक सामग्रीको खोजी गर्न मिल्दैन। सरकारले त्यसको पूर्वतयारी गर्नैर्पर्छ। नेपाली सेनाको आठै पृतनामा उद्धारका लागि सामग्री हेलिकप्टर तयारी अवस्थामा राख्नुपर्ने सुझाव आमनागरिकको छ। त्यसो नहुँदा समस्या भएको र सेना पनि आलोचित भएको सेनाका अधिकारीहरू बताउँछन्।

सरकार असंवेदनशील, अकर्मण्य, अक्षम, असफल भएको सर्वसाधारणले बताइरहेका छन्। पहिरो गएको स्थान होस् या बाढीले कहर मच्चाएकाे नदीखाेलाका क्षेत्रका जनता भयग्रस्त  छन्। उनीहरूले भनिरहेका छन्, ‘मुलुकभर व्याप्त विपद्को परिस्थितिमा नागरिकलाई आपत् पर्दा जिम्मेवार सरकार भएको अनुभूति आमनागरिकले गर्न पाएनन्।’

नागरिकको करबाट मस्ती गरेर हिँड्ने र जिम्मेवार हुन नजान्ने व्यक्ति सरकारमा रहेको धारणा आमनगारिकको छ। सरकार प्रमुखदेखि जिम्मेवारी वहन गर्ने प्रमुख सरकारी अधिकारीहरू प्राकृतिक विपद्सँग सम्बन्धित विषयमा गर्नुपर्ने उद्धार, राहतलगायतका काममा भन्दा घुमफिर गर्ने मोजमस्तीमा व्यस्त छन्।

उद्धारका लागि हेलिकप्टर किन्न सेनालाई रकम दिनुपर्ने सरकारले उल्टै भ्युटावर बनाएर रकम सकेको छ। पुलहरू भत्किएर प्रमुख राजमार्ग अवरुद्ध भएका छन्।  ऊर्जा र पूर्वाधार क्षेत्रमा कराेडाैँकाे क्षति भएकाे छ। अनि गृहमन्त्री रमेश लेखककाे हास्यास्पद अभिव्यक्ति आउँछ- समयमै सूचना र सन्देश प्रवाह हुँदा यसपालि न्यून क्षति भएकाे छ।

गृहमन्त्रीकाे याे गैरजिम्मेवारपूर्ण अभिव्यक्तिकाे चर्काे अलोचना भइरहेकाे छ। सत्ता साझेदार दल  कांग्रेसकाे बैठकमा पदाधिकारीहरूले प्राकृतिक विपद्का सम्बन्धमा पदाधिकारीहरूले साेधेकाे प्रश्नमा कांग्रेसका मन्त्रीहरू नाजवाफ भए। कांग्रेसका मन्त्रीहरूले भने, यस्ताे साह्रो गरी विपद् आउँछ भन्ने अनुमान गरेका थिएनाैँ।

सरकारको प्रमुख साझेदार दल नेपाली कांग्रेसले प्राकृतिक विपद्सँग जुध्नका लागि सरकारले आवश्यक पूर्वतयारी गर्नुपर्नेमा त्यसतर्फ ध्यन नदिएको भन्दै  असन्तुष्टि जनाएको छ। ‘नियमित रुपले झेल्नुपरेको प्राकृतिक विपद्सँग जुध्न आवश्यक पूर्वतयारी र उद्धारमा तीव्रता र चुस्तताको आवश्यक तयारी अधिक हुनुपर्ने भए पनि सरकारले त्यसमा हेलचेक्राइँ गरेको निष्कर्ष कांग्रेसको छ।

तीनै तहको सरकारले पूरा गर्नुपर्ने भूमिकाको एकीकृत रणनीति र चुस्त कार्ययोजना निर्माण गर्न तथा उद्धारमा आवश्यक पर्ने स्रोतसाधनको पर्याप्त जोहो गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठकले सरकारलाई ध्यानाकर्षण गराउने जनाएको छ। सरकारकाे प्रमुख साझेदार दल कांग्रेसले यस्ताे विषम परिस्थितिमा कालाेबजारी हुनसक्नेतर्फ पनि सचेत गराइसकेकाे छ।

प्राकृतिक प्रकोपका कारण क्षतिग्रस्त विद्युत्, खानेपानी, सञ्चारलगायतका सेवा सघन रुपले परिचालन हुन नसकेको अवस्था छ। यसका संरचनामा ठूलै असर पुगेको छ। कैयौं ठाउँमा सञ्चार सेवा अवरुद्ध भएका छन्।

खानेपानीको वितरण प्रभावित भएको छ। तत्काल भोग्नुपरेको समस्यामा नागरिक पंक्तिलाई विश्वासमा लिँदै अवस्था सामान्य बनाउन आवश्यक रहेको पनि नेपाली कांग्रेसले सम्बन्धित निकायलाई सघन रुपले परिचालन गर्न भनेको छ।

अवरुद्ध सडकहरूको मर्मतसम्भारको कार्य तीव्र गतिमा अघि बढाउन तथा पक्की पुल निर्माणमा समय लाग्ने तथ्य दृष्टिगत गरी बेलिब्रिज जडान गर्न पनि कांग्रेसले जोड दिएको छ। यो चाडपर्वको बीचमा यस्तो भएको ध्यान दिन पनि आवश्यक छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विपद्को पूर्वतयारी र राहत तथा उद्धार कार्यमा सुस्त देखिएको भन्दै सरकारको आलाेचना गरेकाे छ।

सबै दलहरूलाई प्राकृतिक प्रकोपछिको स्थितिको सामना गर्नका लागि ऐक्यबद्ध भएर अघि बढ्न आवश्यक छ। प्रकृतिक प्रकोपले राष्ट्रिय विपत्तिका रूप लिएको यो घडीमा नागरिक पंक्तिलाई थप सतर्कतामा राख्न सरकार लागिपर्नुपर्ने देखिन्छ।

दुई दिनको वर्षातले वर्तमान सरकारलाई हारगुहार गर्नुपर्ने बनाएको छ।  राज्यसंयन्त्रले विपद्का अवस्थामा तत्काल उद्धार तथा राहतका लागि आवश्यक प्रबन्ध मिलाउनुपर्ने कुरा आधारभूत विषय हो तर त्यसमा पनि कमि आएको सैन्य अधिकारीहरुकाे भनाइ छ।

बाढीपहिरोको त्रासमा रहेका आमसर्वसाधारणको उद्धारमा यथोचित तदारुकताका प्रस्तुत हुन नसक्ने राज्यसंयन्त्र जनताका लागि समर्पित रहेको किमार्थ मान्न सकिँदैन। निहत्था नागरिकबाट समाधानको आशा राख्ने स्रोतसाधन सम्पन्न राज्य संयन्त्र विलम्ब गरी घटनास्थलमा पुग्ने कुरा कदापि स्वीकार्य हुन सकिँदैन।

पीडित जनताको यथाशीघ्र उद्धार, राहत तथा पुनर्स्थापनामा सरकारले अपेक्षित भूमिका निर्वाह गर्नपर्ने देखिन्छ। विपद् व्यवस्थापन तथा उद्धारकार्यमा राज्यसंयन्त्रमा अहिले देखिएको गैरजिम्मेवारी आगामी दिनमा नदोहोरियोस् भनी त्यसमा अडेर काम अघि बढाउन पर्नेमा सरकारकाे ध्यान जानुपर्छ।

यसमा नेपाली जनता धैर्यवान् भएर मात्र यो अवस्थमा छुट्ने छन्। यही तवरले सरकारले अनावश्यक दु:ख दिएमा नागरिककाे धैर्यकाे नटुट्ने र सडकमा उत्रिँदैनन् भन्न सकिँदैन।

मुलुक र नागरिकले सामना गरिरहेकाे विपद्काे याे घडीमा दलहरू पनि आराेपप्रत्याराेपमा नलागी समन्वयात्मक भूमिकामा जुट्नु जरुरी छ। एकअर्काकाे सहयाेगबाटै अहिले देशमा आइपरेकाे याे विपद्काे सामना गर्न सकिन्छ।

बाढीपहिराेमा परी हजाराैँकाे संख्यामा नागरिक घरवारविहीन भएका छन्। उनीहरूकाे सुरक्षित आवासका लागि सरकारकाे ध्यान जान जरूरी छ। उद्धारपछि सरकारकाे पहिलाे प्राथमिकतामा घरबारविहीन भएकाहरूका लागि पुनर्वास पर्नुपर्ने हुन्छ।

विपतको समयमा सेना, प्रहरी र सशस्त्र पहरीले पनि राम्रो काम गरिरहेको अवस्था छ। तर सरकारको जुन तवरबाट निर्देशन दिने गरी काम भएको थिएन । त्यही काम अघि बढाएर सरकारले जतिसक्दो छिटो अमेरिकाबाट आउने विमान र केही हेलिकप्टर खरिदमा लाग्नुपर्ने देखिन्छ। नेपाली सेनाको आठै पृतनामा सबै हेलिप्याडको व्यवस्था र विपत् बाहिनी खडा गर्ने हो भने भविष्यमा यस्तो क्षति कम हुनेछ।

प्रकाशित: १३ असोज २०८१ २२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =