अवरुद्ध सबै सडक दुई दिनभित्र खुलाउँछौँ : यातायातमन्त्री दाहाल

हिमाल प्रेस १३ असोज २०८१ १९:०९
12
SHARES
अवरुद्ध सबै सडक दुई दिनभित्र खुलाउँछौँ : यातायातमन्त्री दाहाल मन्त्री दाहाल। फाइल तस्बिर

काठमाडौँ- बाढीपहिरोका कारण देशभरका ६७ वटा राजमार्ग अवरुद्ध भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देशभरका ८० वटा राष्ट्रिय राजमार्गमध्ये ६७ मा यातायात अवरुद्ध भएको जानकारी आएको बताएका हुन्।

अवरुद्ध राजमार्गमध्ये ५० वटाभन्दा सडक सामान्य रुपमा सञ्चालनमा ल्याइएको छ। सबै सञ्चालनमा ल्याउन आवश्यक तयारी थालिएको र यसका लागि सबै संयन्त्र परिचालन गरिएको छ। वर्षा कम हुन थालेपछि अवरुद्ध सडक खुलाउने काम भइरहेको दाहालले बताए।

‘दसँैको मुखमा भएको बाढीपहिरोले सडक अवरुद्ध छ। त्यसैले छिटोभन्दा छिटो सडक खुलाउने काम भइरहेको छ’, दाहालले हिमालप्रेसँग भने। उनले आगामी दुई दिनभित्र अवरुद्ध रहेका अधिकांश सडक अस्थायी रुपमा सञ्चालनमा ल्याइने दाबी गरे। उनले भने, देशभरका दुई सयभन्दा बढी सडक अवरुद्ध छन्। अधिकांश सडक दुई दिनभित्र खुलाउने गरी तीनै तहको सरकारले काम गरिरहेका छन्।

सबैभन्दा बढी पुष्पलाल मध्यपहाडी, पृथ्वी राजमार्गको नागढंगा नौबिसे मुग्लिन सडक, मेची राजमार्ग, बीपी राजमार्ग त्रिभुवन राजपथ र अरनिको राजमार्ग अवरुद्ध भएका छन्।

देशभर ९० वटाभन्दा साना–ठूला पुल भत्किएको छ। मन्त्रालयका अनुसार ४० भन्दा बढी स्थानमा सडक भासिएको छ।

सबैभन्दा बढी मानवीय क्षति उपत्यकामा

बाढीपहिरोले काठमाडौँ उपत्यकामा सबैभन्दा बढी मानवीय क्षति भएको गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिए।

काठमाडौँ उपत्यकामा ७४, बागमती प्रदेशमा ५६, कोशी प्रदेशमा १७ र मधेशमा २ जनाको मृत्यु भएको छ।

गृह मन्त्रालयका अनुसार उद्धार र राहतका लागि देशभर २० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।

गृहमन्त्री रमेश लेखकले सरकारले चारवटा कुरामा जोड दिएको बताए। हामीले मानिसहरूको खोजी गर्नुछ। दुःख र पीडामा रहेका मान्छेलाई उद्धार गर्नुछ। सँगसँगै राहत पनि अगाडि बढाउनु छ। घाइतेहरूको उपचार गर्नु छ। राजमार्ग चाँडोभन्दा चाँडो खोल्नुपर्नेछ’, लेखकले आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सर्वदलीय बैठकमा भने।

लेखकले डुबानमा परेका उपत्यका लगायत देशका सम्पूर्ण स्थानमा खाद्यान, खानेपानी, अस्थायी बसोबास, प्राथमिक स्वास्थ्य तथा महामारी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन गरिएको बताए।

प्रकाशित: १३ असोज २०८१ १९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =