बाढीपहिरोका कारण कोशी प्रदेशमा १५ जनाको मृत्यु

हिमाल प्रेस १२ असोज २०८१ २०:५६
6
SHARES
बाढीपहिरोका कारण कोशी प्रदेशमा १५ जनाको मृत्यु

इटहरी- अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा हालसम्म १५ जनाको मृत्यु भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयमा हालसम्म अद्यावधिक गरिएको तथ्यांकअनुसार पाँचथर र सोलुखुम्बुमा सबैभन्दा बढी पाँच–पाँच जनाको मृत्यु भएको छ।

यसैगरी धनकुटामा दुई, इलाम र उदयपुरमा एक–एकजनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भीमबहादुर दाहालले जानकारी दिए ।

एसएसपी दाहालका अनुसार पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले घर पुरिएर २४ वर्षीया सपना शेर्पा र उनकी छोरी ६ वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको छ । फिदिम–१२ घर भएकी सपना फिदिम–४ मा कोठाभाडामा बस्दै आएकी थिइन् ।

यसैगरी फिदिम–१ साङ्लेबोटेमा पहिरोले पुरिएर ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको दाहालले बताए । उनी राजकुमार नेम्वाङको घरमा कोठाभाडामा बसेर फुरुङ्गा हाइड्रोपावरमा काम गर्दै आएका थिए ।

यसैगरी फिदिम–८ भोटे गाउँँमा पहिरोले पुरिएर ८२ वर्षीय पसेम्बा शेर्पाको मृत्यु भएको छ । आफ्नै घर नजिकको धारामा पानी लिन जाने क्रममा माथिबाट झरेको पहिरोले उनको मृत्यु भएको प्रहरीले जनाएको छ । फिदिम–२ मजिटेमै पहिरोले घर पुरिँदा ३८ वर्षीया रन्जना राईको घटनास्थलमै मत्यु भएको छ ।

 धनकुटाको पाख्रीबास नगरपालिका–५ की ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको पहिरोले पुरिएर मृत्यु भएको छ । पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु भएको दाहालले बताए ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उनका छोरी र बुहारीको मृत्यु भएको छ । सोही वडाका वडाध्यक्ष होमबहादुर मगरका अनुसार पहिरोमा परेर टेकबहादुरकी ३० वर्षीया छोरी कविता मगर र ४१ वर्षीया बुहारी रुपा मगरको मृत्यु भएको हो । अन्य तीनजनाको पहिचान अद्यावधिक भइरहेको दाहालले बताए ।

यता, उदयपुरको रौतामाई गाउँपालिका १ मा बाढीले बगाएर १५ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । खेतबाट घाँस काटेर फर्किने क्रममा बाढीले बगाएर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

यसअघि शुक्रबार इलामको माई नगरपालिका–८ सेता खोलाले बगाएर ६८ वर्षीय मैतबहादुर लिम्बू्को मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाएर घाइते भएका भएका उनको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।

प्रहरीको तथ्यांकअनुसार बेपत्ता हुनेमा फिदिम–१ का ५१ वर्षीय कृष्ण दास, उनकी श्रीमती ४० वर्षीया कमला दास, स्थानीय ५५ वर्षीय धनकुमार तुम्वापो र २१ वर्षीया सरस्वता तुम्वापो रहेका छन् । उनीहरू सबै फुरुङ्गा हाइड्रोपावरमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

यसैगरी पाँचथरकै फालेलुङ गाउँपालिका–४ का अविनारायण राईको घर तारे खोलाले बगाउँदा उनकी पत्नी ३६ वर्षीया कमला राई बेपत्ता भएकी छन् ।

झापाको गौरीगञ्ज गाउँपालिका–२ सुकुम्बासी टोलका ५५ वर्षीय केनालाल राजवंशी कृष्णे खोलाले बगाएर बेपत्ता भएका छन् । शुक्रबार कनचकवल गाउँपालिका–१ की १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएर बेपत्ता बनाएको छ ।

कमल गाउँपालिका–१ का ३५ वर्षीय टीकाराम चौधरी माछा मार्ने क्रममा कृष्णे खोलामा डुबेर बेपत्ता भएका छन् । मोरङ रतुवाईमाई नगरपालिका–७ की ७२ वर्षीया डुरोदेवी राजवंशीलाई बिहीबार रतुवा खोलाले बगाएको छ । उनी हालसम्म बेपत्ता छिन् । बाढीका कारण पुलहरू भत्किदाँ आवतजावत ठप्प भएको छ । वर्षौँ लगाएर बनाएको पुलहरू भत्किदाँ ठूलो क्षति भएको जनाइएको छ ।

प्रकाशित: १२ असोज २०८१ २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eighteen =