उपत्यकाबाट बाहिरिने रात्रीकालीन सवारी सञ्चालनमा रोक

हिमाल प्रेस १२ असोज २०८१ १९:१३
8
SHARES
उपत्यकाबाट बाहिरिने रात्रीकालीन सवारी सञ्चालनमा रोक

काठमाडौँ- तीन दिनदेखि भइरहेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी हालसम्म ६६ जनाको मृत्यु भएको छ।
गृह मन्त्रालयले बाढी पहिरो र डुबानमा परी हालसम्म ६६ जनाको मृत्यु भएको जनाएको हो।

गृहले साँझ जारी गरेको विज्ञप्तिमा बाढी पहिरो र डुबानका घटनाहरूमा हालसम्म ६६ जनाको मृत्यु, ६९ जना बेपत्ता र ६० जना घाइते भएको जनाइएको छ।

त्यस्तै बाढी र पहिरोका कारण सडक, पुल, सार्वजनिक सम्पत्ति र व्यक्तिका निजी घर तथा आवासहरूमा क्षति पुगेको गृहले जनाएको छ।

गृहले प्रतिकूल मौसमका कारण हेलिकप्टरमार्फत उद्धार गर्ने कार्यमा भएको कठिनाइका बाबजुद काठमाडौँ उपत्यका तथा देशका विभिन्न स्थानबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय स्वयंसेवकसमेतको सहयोगमा जोखिममा रहेका मानिसहरूको उद्धार कार्य भइरहेको जनाएको छ।

सडकको अवस्था सहज नभएसम्म काठमाडौँ उपत्यकाबाट बाहिरिने रात्रीकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको गृहले जनाएको छ।

‘सम्भावित सडक दुर्घटनालाई न्यूनीकरण गर्न आश्विन ११ गतेदेखि सडकको अवस्था सहज नभएसम्म काठमाडौँ उपत्यकाबाट बाहिरिने रात्रीकालीन सवारी साधनलाई रोक लगाइएको छ भने विभिन्न सडकखण्डहरूको अवस्था अद्यावधिक गरी जानकारी गराउनुका साथै स्थानीय प्रशासनबाट मौसमको अवस्थालाई मध्यनजर गरी अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रभावितहरूको खोज तथा उद्धार र राहतमा सबै सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालित हुन्, खोज तथा उद्धार र राहतमा सबै सुरक्षा निकायहरू समन्वयात्मक रुपमा परिचालित हुन, खोज तथा उद्धारमा नेपाली सेनाको हेलिकप्टरलगायत केन्द्र, प्रदेश, जिल्ला र स्थानीयस्तरमा उपलब्ध सबै उपकरण र साधन प्रयोग गर्न, अवरूद्ध सडक अविलम्ब सञ्चालनमा ल्याउन र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन गृहले निर्देशन दिएको छ।

जल तथा मौसम विज्ञान विभागले असोज १३ गतेसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको भन्दै गृहले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

प्रकाशित: १२ असोज २०८१ १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =