राहत र उद्धारका विषयमा सरकार सक्रिय भएर अगाडि बढिसकेको छ : गृहमन्त्री लेखक

हिमाल प्रेस १२ असोज २०८१ १४:२०
6
SHARES
राहत र उद्धारका विषयमा सरकार सक्रिय भएर अगाडि बढिसकेको छ : गृहमन्त्री लेखक रमेश लेखक।

काठमाण्डौं – गृहमन्त्री रमेश लेखकले निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्दार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन्।

शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ को बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै गृहमन्त्री लेखकले वर्षा, बाढी, पहिरो र डुबानबाट काठमाण्डौ उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्दार टोलीले साढे सात सय भन्दा बढी नागरिकको सकुशल उद्दार गरेको जानकारी दिए।

‘दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ,’ गृहमन्त्री लेखकले भने, ‘ मुलुकमा ठुलो विपद्को स्थिती आएको छ।’

उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सुचना संकलन गर्ने, उद्दार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए।

‘ठुलो जनधनको क्षति भएको छ, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु,’ उनले भने, ‘उद्दार, राहत लगायतका विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको छ।’

वर्षाका कारण काठमाण्डौ भित्र्निे सडकहरु अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई उनले निर्देशन समेत दिए।

‘विपद्बाट हुने क्षति न्युनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको छ,’ उनले भने, ‘बाढी, पहिरो लगायत विपदसम्वन्धी पूर्व सुचना जारी गर्ने काम पनि हुँदै आएको छ।’

उनले अवस्था सामान्य हुँदै गएपछि विस्थापितलाई पुर्नस्थापनाका लागि सरकारले पहल गर्ने बताए। उनले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ २४ सै घण्टा सक्रिय बनाइने उल्लेख गरे।

‘खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाइ उद्दारमा समेत समस्या भयो,’ उनले भने, ‘स्थलगत रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार, सुचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकप्टरबाट नेपाली सेनाले निगरानी र उद्दार गर्नेगरी सुरक्षा निकाय परिचालन भएको छ।’

प्रकाशित: १२ असोज २०८१ १४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =