बाढी पहिरोमा परी १२ जनाको मृत्यु

हिमाल प्रेस १२ असोज २०८१ १२:४१
8
SHARES
बाढी पहिरोमा परी १२ जनाको मृत्यु तस्बिर : नेपाल प्रहरी

काठमाडौँ- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा १२ जनाको मृत्यु भएको छ।

बाढी र पहिरोमा परी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थान गरी १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बाढी पहिरोमा परेर देशका विभिन्न स्थान गरी १२ जनाको मृत्यु भएको जानकारी दिए।

प्रवक्ता कार्कीका अनुसार मृतक १२ जनामध्ये ९ जना ललितपुरका रहेका छन्। त्यस्तै धनकुटामा २ र काभ्रेमा १ जनाको मृत्यु भएको उनले बताए।

कार्कीले बाढी पहिरोमा परी ७ जना बेपत्ता र ७ जना घाइते भएको जानकारी दिए। बाढीमा परेर बेपत्ता भएकाहरूको खोजी भइरहेको उनले बताए।

कार्कीले अविरल वर्षाका कारण देशभरका मुख्य राजमार्गहरू अवरूद्ध भएको जानकारी दिए। उनले भने,‘देशभरका मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्, कतिपय भित्री सडकहरू पनि सञ्चालनमा छैनन्।’

कोशी ब्यारेजको ५६ मध्ये ५० वटा ढोका खोलिएको बताउँदै उनले पानीको सतह खतराभन्दा माथि नाघिसकेको जानकारी दिए।

यसका साथै उपत्यकाका तल्लो क्षेत्रका नदीहरूमा पानीको सतह खतराको संकेत नाघिसकेको उनले बताए। कार्कीले भने,‘उपत्यकाका तल्लो क्षेत्रहरू बल्खु, नख्खुलगायतका नदीमा पानीको सतह बढेको छ। पानी सडकमा आउने अवस्था देखिएको छ। त्यस क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेका छौँ।’

उनले बाढी पहिरोका कारण देशभर चार सयभन्दा बढी मानिस विस्थापित भएको जानकारी दिए। विस्थापित भएकाहरूको उद्धार र व्यवस्थापन कार्यमा नेपाल प्रहरी जुटेको उनले बताए।

प्रवक्ता कार्कीले भने,‘देशभर चार सय जनालाई रिलोकेट गरिएको छ। उनीहरूको उद्धार र सुरक्षित व्यवस्थापन कार्यका लागि नेपाल प्रहरी पूर्ण शक्ति लगाएर जुटेको छ।’

उनले आइतबारसम्म वर्षा जारी रहने पूर्वानूमान गरिएकाले सबैलाई सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको बताए।

प्रकाशित: १२ असोज २०८१ १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =