काठमाडौँ- किशोरी बलात्कारको आरोपमा जनकपुरधाम उपमहानगरपालिकाका दुई जना नगर प्रहरी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जनकपुरधाम वडा नम्बर १२ का बब्बल महतो र वडा नम्बर १७ का बिजेन्द्र राउत हुन्।
एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
धनुषा प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको आधारमा महतो र राउतलाई पक्राउ गरिएको जानकारी दिए।
‘उनीहरूविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी आएको छ,’ एसपी तिवारीले भने,‘जबरजस्ती करणीको जाहेरीका आधारमा उनीहरू पक्राउ परेका हुन्।’
उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।
बुधबार दिउँसो जनकपुरस्थित घरमा गएर उनीहरूले किशोरीलाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ।
प्रहरीले राउतलाई ड्युटीमै खटिएकाबेला र महतोलाई घरबाट पक्राउ गरेको बताइएको छ।