च्याङ्ग्रा किनेको ४२ लाख नदिएर भागेकामध्ये एक जना पक्राउ

हिमाल प्रेस ८ असोज २०८१ २०:२४
58
SHARES
च्याङ्ग्रा किनेको ४२ लाख नदिएर भागेकामध्ये एक जना पक्राउ

पोखरा- हिमालपारिको जिल्ला मुस्ताङमा १०३ च्याङ्ग्रा खरिद गरी पैसा नदिई भागेका तीनमध्ये एक जना कास्की प्रहरीको फन्दामा परेका छन्।

पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा ४ स्थायी घर भई हाल पोखरा ७, मासबार बस्ने ५० वर्षीय मोहम्मद फकिर हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सोमार पोखरा–४ बाट पक्राउ गर्न सफल भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए। उनका अनुसार अन्य दुई जनाको पनि खोजीकार्य भइरहेको छ।

पक्राउ परेका फकिरलाई ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ ९एक्स्टर्सन० कसूरमा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी शर्माले बताए।

घटनाक्रमअनुसार, गत असोज १ मा फकिरसहित ३ जना व्यक्तिहरू मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३, बारागुङका ताक्ला गुरुङको घरगोठमा च्याङ्ग्रा खरिद गर्न गएका थिए। उनीहरूले ताक्लाले पालेका १ सय ३ च्याङ्ग्रा ४२ लाख रुपैयाँ मोलमोलाइ गरी खरिद गरेका थिए। तर तत्काल आफूहरूसँग पैसा नभएको र पोखरा गई दिने आश्वासनसहित च्याङ्ग्राधनी ताक्लासहित पोखरा आएका थिए।

पोखरा-१७, ड्यामसाइडस्थित एक होटलमा सुतेको अवस्थामै राति गाडीसहित भागेको खबर बाहिरिएको थियो। यो घटनापछि ताक्लाले न्यायका लागि कास्की प्रहरीमा उजुरी दिएका थिए।

उजुरीपछि खोजतलास तथा अनुसन्धान गर्दैगर्दा मुख्य अभियुक्त फकिर पक्राउ परेका हुन्। अनुसन्धानका क्रममा फकिरले च्याङ्ग्रा भने घटनाको दोस्रो दिन असोज २ मा पोखरा–२५, घट्टेखोलाबाट अरू गाडीमा लोड गरी बिक्री वितरण गरेको खुल्न आएको छ। थप अनुन्धान भइरहेको डीएसपी शर्माले बताए।

प्रकाशित: ८ असोज २०८१ २०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =