संविधान दिवसमा झलनाथ खनालले अपिल : संविधानलाई ठूला पार्टीहरूको खेलौना बन्न नदिऔँ

हिमाल प्रेस ३ असोज २०८१ ९:४३ | Thursday, September 19, 2024
संविधान दिवसमा झलनाथ खनालले अपिल : संविधानलाई ठूला पार्टीहरूको खेलौना बन्न नदिऔँ

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेको आरोप लगाएका छन्। त्यस्ता नीतिको भण्डाफोर गर्न पनि उनले आह्वान गरेका छन्।

संविधान दिवसको अवसरमा आज एक सन्देश सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले वर्तमान संविधान जारी भएपछिका यी ९ वर्षमा ८ वटै नीति तथा कार्यक्रम, ९ वटै वार्षिक बजेट र दुई वटा पञ्चवर्षीय योजना लागू गरिसक्दा पनि जनआकांक्षा सम्बोधन नभएको उल्लेख गरेका छन्। यसो हुनुको दोष उनले ठूला पार्टीहरुलाई लगाएका छन्।

पूर्वप्रधानमन्त्री खनालले सन्देशमा लेखेका छन्, ‘आज देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यो ठूला पार्टीहरूका नेतृत्वमा रहेको दिशाहीनता, लक्ष्यहीनता, अकर्मण्यता, आत्मकेन्द्रित स्वार्थीपन, भ्रष्ट आचरण, सत्तालोलुप्ता, दम्भ, घमण्ड र सर्वोपरि रूपमा सिद्धान्तहीनता, नैतिकहीनता र निष्ठा विहीनताको अनिवार्य परिणाम हो।’

संविधानका प्रगतिशील पक्षहरू लागू नगरेर संविधान संशोधनको हल्ला मचाइरहेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्। देशमा दलाल पुँजीवादको रजगज भएको भन्दै उनले त्यसलाई चुपचाप हरेर नहुने बताएका छन्।

‘जनता र राष्ट्रका समस्याहरू दलाल पुँजीवादले समाधान गर्न सक्तैन। त्यसले देशलाई हर दिन चौतर्फी संकटतिर लागिरहेछ,’ खनाल भन्छन्, ‘देशमा यतिबेला राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संकट गहिरिँदै गइरहेछ। राष्ट्रियतामाथिको संकट त्यति कै चर्को बनिरहेछ।’ उनले ‘विदेशी सेनाहरू अनेक बहानामा हाम्रो मातृभूमिका छातीमा बुट बजार्न थालेको’ पनि उल्लेख गरेका छन्।

आम जनतामा असन्तोष, विरोध र आक्रोश उम्लिरहेको उल्लेख गर्दै खनालले ‘संविधानमा उल्लिखित समाजवाद कता हराइरहेको छ?’ भनेर प्रश्नसमेत गरेका छन्। संविधानका प्रगतिशील र समाजवादी पक्षलाई केलाउँदै संविधानलाई पश्चगमनतर्फ लैजानबाट रोक्न पनि उनले आह्वान गरेका छन्। उनले वर्तमान संविधानलाई ठूला पार्टीहरूको खेलौना बन्न नदिन पनि अपिल गरेका छन्।

‘संविधानमा उल्लेखित प्रगतिशील र समाजवादी पक्षलाई केलाऔँ, ती पक्षहरूको रक्षाका निम्ति दृढतापूर्वक खडा होऔँ। संविधानलाई पश्चगमन तर्फ लानबाट रोकौं,’ खनालले सन्देशमा लेखेका छन्, ‘ठूला पार्टीहरुका जनता झुक्याउने नीतिहरूको भण्डाफोर गरौं, वास्तविक समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गरौं र वर्तमान संविधानलाई ठूला पार्टीहरूको खेलौना बन्न नदिऔं। यसलाई नेपाली जनताको आकांक्षा अनुरूप समाजवादको उचाइतिर अघि बढाऔं। आजको संविधान दिवसले तपाईं हामीसँग यही कुराको माग गरिरहेको छ।’

प्रकाशित: ३ असोज २०८१ ९:४३ | Thursday, September 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast