बर्दिबासमा ३१ हजारले लिए सर्पदंशको उपचार

हिमाल प्रेस २ असोज २०८१ १५:२९ | Wednesday, September 18, 2024
बर्दिबासमा ३१ हजारले लिए सर्पदंशको उपचार

महोत्तरी – महोत्तरीको बर्दिबासमा हालसम्म करिब ३१ हजारले सर्पदंशको उपचार सेवा लिएका छन्। बर्दिबास–३ गौरीडाँडामा सर्पदंश उपचार केन्द्र सञ्चालन भएयता हालसम्म तीस हजार नौ सय ४८ जनाले सेवा लिएका हुन्।

केन्द्रले वि.सं २०७१ साउन ३१ गतेदेखि उपचार सेवा दिँदै आएको हो। चालु आर्थिक वर्षको हालसम्म एक सय एक जनाले सेवा लिएका केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिए। उनका अनुसार गत साउनमा ५० र भदौमा ५१ जनाले उपचार लिएका छन्। केन्द्र स्थापना भएदेखि उपचारमा नेपाली सेनाका छ जना दक्ष जनशक्ति खट्दै आएका छन्।

सबैभन्दा बढी सर्पदंशका बिरामी आव २०७६/७७ र आव २०७८/७९ मा देखिएका छन्। ती वर्षमा क्रमशः तीन हजार नौ सय ४७ र तीन हजार नौ सय २२ जनाले उपचार लिएका केन्द्रको अभिलेखले जनाएको छ। गत आवमा आठ सय ८४ जनाले उपचार लिएका नेपाली सेनाका उपचारटोलीका प्रमुख मानसिंह कुँवरले जानकारी दिए।

लामो खडेरीपछि एक्कासी ठूलो पानी परेका बेला सर्पदंशका घटना बढ्ने भन्दै आवश्यक सर्तकता अपनाई सचेत हुन कुँवरले सर्वसाधरणलाई आग्रह गरे।

महोत्तरीको बर्दिबास नगरक्षेत्रमा सर्प बढी देखिने गरेका छन्। पछिल्ला दिनमा बर्दिबास नगरक्षेत्रको बढ्दो सहरीकरणले मानव चहलपहल वृद्धि भएसँगै सर्पको बिगबिगी घट्दै गएको यहाँका स्थानीय बताउँछन्। केन्द्रमा महोत्तरी, सिन्धुली, धनुषा र सर्लाहीलगायत मधेश प्रदेशका जिल्लाका सेवाग्राही उपचारका लागि आउने गर्दछन्।

प्रकाशित: २ असोज २०८१ १५:२९ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast