महन्थ ठाकुरले निलम्बित सांसदलाई दलको नेतामा निरन्तरता दिन खोजेपछि लोसपामा भाँडभैलो

हिमाल प्रेस ३० भदौ २०८१ २१:१७
36
SHARES
महन्थ ठाकुरले निलम्बित सांसदलाई दलको नेतामा निरन्तरता दिन खोजेपछि लोसपामा भाँडभैलो

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशका निलम्बित सांसद अभिरामकुमार शर्मालाई प्रदेश संसदीय दलको नेतामा निरन्तरता दिन खोजेपछि भाँडभैलो मच्चिएको छ। शर्मा निलम्बनमा परेपछि रिक्त रहेको संसदीय दलको नेतामा पूर्वप्रदेशमन्त्री जितेन्द्र सोनल चयन भएपछि लोसपामा भाँडभैलो मच्चिएको हो।

सशस्त्र प्रहरी सई हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट दोषी ठहर भएर शर्मा निलम्बनमा परेपछि मधेशमा लोसपा संसदीय दलको नेताविहीन थियो। करिब १० महिनादेखि रिक्त रहेको दलको नेतामा पार्टीको मधेश प्रदेश अध्यक्षसमेत रहेका सोनल चयन भएपछि ठाकुर असन्तुष्ट बनेका हुन्। ज्येष्ठ प्रदेश सांसद जयनुल राईनको अध्यक्षतामा शुक्रबार बसेको बहुमत सांसदको बैठकले सोनललाई दलको नेतामा चयन गरेको थियो।

अध्यक्ष ठाकुरले भने पार्टी अनुशासनविपरीत दलको नेता निर्वाचित गरेको भन्दै सोनललाई स्पष्टीकरण सोधेका छन्। आफूखुसी बैठक बोलाई संसदीय दलको नेता घोषित गरेको भन्दै ठाकुरले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न सोनललाई भनेका छन्। ‘पार्टीको अनुशासन, परम्परा र विधानविपरीत तपाईंले आफूखुसी, पार्टीको निर्देशन र मनसायविपरीत माननीय जयनुल राईनको अध्यक्षतामा दलको बैठक बोलाई आफूलाई नै संसदीय दलको नेता घोषित गरी सभामुखसमक्ष पेस गरेको कदापि मान्य नहुने, साथै तपाईंमाथि अनुशासनको कारबाही किन नगर्ने भन्ने यो पत्र प्राप्त गरेको तीन दिनभित्र सोको कारण खुलाई लिखित जवाफ मागिएको व्यहोरा जानकारी गराउँदछु,’ ठाकुरले सोधेको स्पष्टीकरणपत्रमा भनिएको छ।

साथै तीन दिनभित्र चित्तबुझ्दो जवाफ नदिए सोनललाई पार्टीबाट निष्कासन गर्ने चेतावनी ठाकुरले दिएका छन्। लोसपाका ८ मध्ये ५ प्रदेश सांसदको बैठकले सोनललाई दलको नेता चयन गरेको थियो। ज्येष्ठ सांसद राईनको अध्यक्षतामा बसेको बैठकमा सोनलसहित रमेश पटेल, रामबाबु यादव र रमिता प्रधान उपस्थित थिए।

प्रदेश सांसदहरू रानी शर्मा तिवारी, उपेन्द्र महतो र रुपा यादव भने बैठकमा उपस्थित थिएनन्। दलको नेतामा सोनललाई निर्वाचित गर्ने निर्णय बहुमत सांसदहरूले सभामुख रामचन्द्र मण्डललाई बुझाइसकेका छन्। यो निर्णयसँगै लोसपा संसदीय दलको कार्यालयमा सोनलको नेमप्लेट पनि लगाइएको छ।

तर, अध्यक्ष ठाकुरले भने सभामुख मण्डललाई सोनललाई संसदीय दलको नेता निर्वाचित भएको निर्णय कार्यान्वयन नगर्न पत्र पठाएपछि लोसपामा खटपट सुरु भएको हो।निलम्बनमा परेका सांसद शर्मालाई अध्यक्ष ठाकुरले संसदीय दलको नेतामा निरन्तरता दिन खोजेको भन्दै लोसपाभित्र विवाद चर्किएको हो। ‘अध्यक्षज्यूले निलम्बनमा परेका सांसदलाई नै निरन्तरता दिन भनेर सभामुखलाई पत्र पठाउनु भएको छ, तत्काल सांसद नै नरहेको व्यक्ति कसरी दलको नेता हुने? उहाँले पार्टीभित्र विवाद चर्काउने काम गर्नु भएको छ,’ लोसपा मधेश प्रदेशका एक पदाधिकारीले भने।

सोनल र शर्मा दुवै लोसपाकै नेता भएकाले कुनै एकको पक्षमा खुल्नु अध्यक्षजस्तो व्यक्तिका लागि ठीक नभएको उनको भनाइ छ। उनी भन्छन्, ‘शर्माजी र सोनलजी दुवै जना लोसपाकै नेता हुनुहुन्छ। निलम्बनमा परेपछि संसदीय दलको नेताको पद खाली राख्नु उपयुक्त त होइन नि। सोनलजी विधानसम्मत नै दलको नेतामा निर्वाचित हुनुभएको छ।’

निलम्बित व्यक्तिलाई नै दलको नेतामा निरन्तरता दिन खोज्नुको कुनै अर्थ नरहेको बताउँदै उनले ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर सोनललाई दलको नेता चयन गर्नु विधानसम्मत निर्णय रहेको बताए।

सोनललाई स्पष्टीकरण सोध्ने र सभामुखलाई पत्र पठाएर निर्णय कार्यान्वयन नगर्न ठाकुरले चालेको कदमले पार्टी दुई चिरामा विभाजित भएको उनको भनाइ छ।

‘अध्यक्षजीको यो कदमले पार्टीभित्र ठूलै असर परेको छ। पार्टीमा के नै बाँकी रह्यो अब? ठाकुरजी हदैसम्म खुल्नु भएको छ। निकास दिनुपर्ने ठाउँमा उहाँले विवाद निम्त्याउने काम गर्नुभएको छ,’ उनले भने। ती नेताका अनुसार अध्यक्ष ठाकुरले पत्र पठाए पनि सभामुखले भने बहुमतको निर्णय कार्यान्वयन गर्ने बताएका छन्।

सशस्त्र प्रहरी सई थमन विक हत्या प्रकरणमा अदालतले जन्मकैदको सजाय सुनाएपछि लोसपा संसदीय दलको नेतासमेत रहेका शर्मा गत चैतमा निलम्बनमा परेका थिए। उनी निलम्बित भएयता लोसपा संसदीय दल नेताविहीन छ। त्यस्तै प्रमुख सचेतक रानी शर्मा तिवारी मन्त्री नियुक्त भएपछि यो पद पनि रिक्त रहेको छ।

प्रकाशित: ३० भदौ २०८१ २१:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =