पहाडको भित्तामा अवस्थित निर्फु गुम्बा पुनर्निर्माण

हिमाल प्रेस २७ भदौ २०८१ १४:०४ | Thursday, September 12, 2024
पहाडको भित्तामा अवस्थित  निर्फु गुम्बा पुनर्निर्माण

म्याग्दी- मुस्ताङको लोमान्थाङ गाउँपालिका-१ छोसेरमा रहेको धार्मिक, पर्यटकीय महत्त्वको ऐतिहासिक निर्फु गुम्बा पुनर्निर्माण सम्पन्न भएको छ। १५ औँ शताब्दीमा पहाडको भित्तामा रहेको गुफामा स्थापना भएको गुम्बा विस २०७२ को गोरखा भूकम्पले असर पुर्‍याएको थियो।

भूकम्प एवं वर्षात्ले समेत गुम्बाका संरचना भत्किने अवस्थामा पुगेकाले काठमाडौँस्थित जर्मन राजदूताबासको सहयोगमा पुनर्निर्माण गरिएको गुम्बाका लामा छोम्भे गुरुङले बताए। ‘जर्मन राजदूतावासको ६६ लाख आर्थिक सहयोगमा गुम्बाको परम्परागत संरचनालाई यथावत राखेर मौलिकता बिग्रन नदिई पुनः निर्माण गरिएको हो,’ उनले भने, ‘पुनर्निर्माण गरेपछि गुम्बाभित्र पानी चुहिने तथा ढुंगा खस्ने समस्या हटेको छ।’

तीन कोठा भएको गुफा मुनी गुम्बाका संरचना छन्। पहाडको फेदीमा पुगेको सडक देखि गुम्बा हुँदै गुफामा पुग्ने पदमार्ग निर्माण भएको र झर्‍याङ राखिएको छ। गुफाभित्र वौद्ध धर्मसम्बन्धी पुस्तक संकलन गरेर धार्मिक पुस्तकालय स्थापना गर्न थालिएको छ।

गुफाको बाहिरी भागमा झ्याल राखिएको छ। गुम्बा र गुफाको रंगरोगन गरेपछि आकर्षक देखिएको छ। मुस्ताङका तत्कालीन दोस्रो सांस्कृतिक राजा आगुन साङ्वोका तेस्रो छोरा सोनाम लोवो खेनचेन (सोनाम इन्टुक) ले १५ औ शताब्दीमा निर्फुको गुफामा ध्यान बस्नका लागि गुम्बा स्थापना गरेको वृद्ध धर्म सम्बन्धी ग्रन्थहरुमा उल्लेख छ।

नेपाल र भारतका धेरै भिक्षुहरु ध्यान बस्न आउने शान्त ठाउँमा रहेको निर्फु गुम्बाको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व रहेको छ। गुफा र गुम्बा अवलोकन गर्न पर्यटक आउँछन्। निर्फु गुम्बा अन्तर्गत सन् २००४ देखि सञ्चालन भएको लामा सम्बन्धी कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ६० जना विद्यार्थीहरु छन्।

नेपाली, अंग्रेजी र भोट भाषाको पठनपाठन हुने यस विद्यालयमा गोर्खा वेल्यफेयरको ३० लाख सहयोगमा तीन कोठे कक्षा कोठा भवन निर्माण भएको छ। भारतीय राजदूतावास र लोमान्थाङ गाउँपालिकाको लागत साझेदारीमा करिब पाँच करोड लागतमा छात्रावास भवन पनि निर्माणाधीन रहेको लामा गुरुङले बताए।

सिंगापुरमा रहेका छोसेरबासीहरुको अगुवाईमा निर्फु गुम्बाको नयाँ भवन पनि निर्माणाधीन रहेको छ।

चीनको सिमानामा रहेको नेपालको अन्तिम मानवबस्ती छोसेरको आकर्षण निर्फु र गार्फु गुम्बा तथा झोङ गुफा हो। गुफा र गुम्बा अवलोकनका लागि नेपालीलाई एक सय र विदेशीलाई प्रतिव्यक्ति  एक हजार शुल्क तोकिएको छ। चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको नेचुङदेखि सवारी साधनमा पाँच मिनेट यात्रा गरेपछि छोसेरमा पुग्न सकिन्छ।

प्रकाशित: २७ भदौ २०८१ १४:०४ | Thursday, September 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast