‘काठमाडौँका अधिकांश निजी स्कुल लुटको केन्द्र’

हिमाल प्रेस २६ भदौ २०८१ १६:२९ | Wednesday, September 11, 2024
‘काठमाडौँका अधिकांश निजी स्कुल लुटको केन्द्र’

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले संविधानमा व्यवस्था भएकाे निःशुल्क शिक्षामा राज्य चुक्दा शिक्षामा व्यापारीकरण भएकाे बताएका छन्। सांसद शाहले  प्रतिनिधिसभाको बुधबारको बैठकमा निजी विद्यालयले विभिन्न बहानामा शुल्क उठाएर अभिभावककाे ढाड सेकेकाे बताए।

शाहले भने, ‘संविधानको धारा ३१ मा नागरिकलाई राज्यबाट निःशुल्क शिक्षा पाउने हक हुनेछ भनेर लेखिएको छ। निःशुल्क शिक्षामा राज्य चुक्दा देशभर र विशेषगरी काठमाडौँका अधिकांश निजी विद्यालयहरू शिक्षाका नाममा लुटको केन्द्र बनिरहेका छन्। अतिरिक्त शुल्क असुल्नकै लागि अभिभावकलाई बोझ हुने गरी अतिरिक्त कक्षामा बस्न बाध्य पारेका छन्। अभिभावकबाट अतिरिक्त शुल्क असुलेर ढाड सेकाउने काम राजधानीका स्कुलहरूमा अहिले भइरहेको छ।’

सांसद शाहले स्कुलको कमाउधन्दाले गर्दा विद्यार्थीहरू १२ घण्टा स्कुलमा बस्न बाध्य भएकाे जनाउँदै एसईईकै नाममा अनिवार्य होस्टलमा बस्नुपर्ने बाध्यता सिर्जना गरेर अर्को धन्दा मौलाएको बताए। विद्यालयले पैसा कमाउनमात्र ध्यान दिँदा एसईईकाे नतिजा पनि कमजाेर भएकाे तर्क गरे। उनले यसतर्फ राज्यकाे अनुगमन नभएकाे भन्दै प्रश्न गरे। ‘एसईई उत्तीर्णको प्रतिशत ४८ छ। राज्यको अनुगमन खोइ? नतिजा खोइ?’ उनले प्रश्न गरे।

उनले सेवाका नाममा व्यापार चलाउने स्कुलहरूकाे सिन्डिकेट ताेड्न अभिभावकहरूलाई आग्रह गरे। यसबारे उनले शिक्षा मन्त्रालय र काठमाडाैँ महानगरपालिकाकाे पनि  ध्यानाकर्षण गराए। शाहले भने, ‘विद्यालयमा अनिवार्य खाजा खानुपर्ने, किताबकापी, ड्रेस स्कुलले तोकेको ठाउँमा ख्वाउन बाध्य छन् अभिभावकहरू। यो सिन्डिकेटविरुद्ध  आवाज बुलन्द पार्न अभिभावकलाई आग्रह गर्दछु। सेवाका नाममा व्यापार चलाउने स्कुलहरूलाई पनि अनुगमन गर्न शिक्षा मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सबैलाई ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रकाशित: २६ भदौ २०८१ १६:२९ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast