रवि लामिछानेविरुद्ध उत्रिए सहकारीपीडित

हिमाल प्रेस २५ भदौ २०८१ १४:५७
12
SHARES
रवि लामिछानेविरुद्ध उत्रिए सहकारीपीडित पोखरा–१७ बिरौटास्थित ग्यालेक्सी बैंकेटअगाडि मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विरोधमा उत्रिएका सहकारीपीडित। तस्बिर : हिमाल प्रेस

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई पोखराका सहकारीपीडितले कालोझण्डा देखाएका छन्। रास्वपाको प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न मंगलबार दिउँसो १ बजे पोखरा आएका सभापति लामिछानेविरुद्ध पीडितले कालोझण्डा देखाएर नाराबाजी गरेका हुन्।

उनीहरूको प्रदर्शनका कारण लामिछानेलाई कार्यक्रमस्थल पोखरा-१७ बिरौटास्थित ग्यालेक्सी बैंकेटमा पुर्‍याउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। लामिछाने हल प्रवेश गरिसक्दासमेत पीडितले बाहिर करिब १ घण्टासम्म नाराबाजी गरेका थिए।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने पोखरा आउने थाहा पाएपछि सहकारीपीडित विभिन्न नाराअंकित प्ले कार्ड बोकेर ठूलो संख्यामा बिरौटामा भेला भएका थिए।

सहकारी पीडितको संयक्त संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘हाम्रो पैसा खाएर यिनीहरू खुल्लमखुला हिँडिरहने? हामीले जबसम्म न्याय पाउँदैनौँ, तबसम्म हाम्रो सहकारीसँग सम्बन्धित कुनै मन्त्री, उच्चपदस्थ व्यक्तिलाई पनि छोड्दैनौँ।’ यसैगरी कालो झण्डा देखाउने र विरोध प्रदर्शन गर्ने कार्यक्रम जारी रहने पनि उनले बताए। श्रेष्ठ सूर्यदर्शन सहकारीपीडित हुन्।

‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो बचतको संरक्षण’, ‘दोषीलाई कारबाही गर’, ‘बचत रकम फिर्ता गर’ लगायतका नारा लेखेको प्लेकार्ड लिएर पीडित उपस्थित थिए। संघर्ष समिति संयोजक श्रेष्ठले भने, ‘दुई दुईपटक गृहमन्त्री (रवि लामिछाने) बन्नु भो, हामीलाई झुठा आश्वासन दिनुभो। यही पोखराका सहकारीका करोडौँ रुपैयाँ ठगिने तर केही न्यायको अनुभूति नहुने?’

बैंकेटमा भित्रबाट ढोका थुनेर कार्यक्रम भइरहेको छ। पीडित पनि करिब १ घण्टासम्म नाराबाजी गरेर फर्किएका छन्। पोखराको सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेकाले लामिछानेविरुद्ध कारबाही हुनुपर्ने पीडित पक्षको माग छ। लामिछाने तत्कालीन समयमा टेलिभिजनको प्रबन्ध निर्देशक थिए।

सुरुमा जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ ठगी भएको उजुरी प्रहरीमा दिएका थिए। उक्त ठगी मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन छ।

मुद्दामा सुरुमा १९ जनालाई प्रतिवादी बनाइएकोमा सहकारी पीडितको पूरक जाहेरीमा १४ कम्पनी र चारजना व्यक्तिको नाम छ। फेरि २५ जना विरुद्धसमेत उजुरी परेको छ। कास्की प्रहरीले उजुरीका सम्बन्धमा अनुसन्धान गरिरहेको भइरहेको जनाएका छ।

सहकारीको रकम अपचलन गरेको विषयमा गठित अनुसन्धान समितिले पछिल्लो समय ४ महिना लगाएर अध्यनय गरेको थियो। सो अध्ययनको ३४१९ पृष्ठ लामो प्रतिवेदन वैशाख २७ गते पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कास्की प्रहरीलाई बुझाएका थिए। पहिलोपल्ट भएको विस्तृत अध्ययनमा समेत पोखरा महानगर सहकारी विभागले ४५० पृष्ठको प्रतिवेदन तयार पारेको थियो।

पोखरा–४, नालाकोमुखस्थित सूर्यदर्शनको सञ्चालक समितिका पदाधिकारीहरुसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरीअनुसार गत वर्ष २२ साउनमा सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले गत वर्ष १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिबाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो। तीमध्ये सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित अधिकांश फरार छन्। अनेक उपाय गरिए पनि सहकारीका संस्थापक अध्यक्ष राई फेला परेका छैनन्। राई ग्यालेक्सी फोरके टेलिभिजनका प्रमुख सञ्चालक हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + thirteen =