काठमाडौँ- यूएईमा अवैध रूपमा बसेका विदेशी कामदारलाई त्यहाँको सरकारले स्वदेश फर्कन वा वैधानिक हुने दुई महिनाको अवसर दिएको छ। सेप्टेम्बर १ तारिकदेखि अक्टोबर ३० तारिकसम्म लागू हुने गरी यूएई सरकारले एम्नेष्टी आदेश जारी गरेको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ।
नेपाली दूतावासले वैधानिकीकरण भएपछि यूएईमा भ्रमण तथा कामकाजका लागि जान कुनै समस्या नहुने स्पष्ट सूचनामा भनेको छ। साथै दूतावासले विगतमा वर्किङ वा भिजिट भिसामा यूएईमा आई रन वे (भागेका) वा ओभर स्टे भइ जरिवाना वा अध्यागमन समस्यामा परेका कामदारका हकमा समेत एमनेष्टीको सेवा लिन आग्रह गरिएको छ।
यूएई सरकारले आफ्नो देशमा लुकिछिपी अवैधरूपमा बसिरहेका कामदारसहित विदेशी नागरिकहरुलाई वैधानिक हुन अवसर दिएको यूएईस्थित नेपाली दूतावासका प्रवक्ता विशाल भट्टराईले जानकारी दिए। यूएई सरकारले अवैधानिक विदेशीलाई लक्षित गरी एम्नेष्टीका कार्यक्रम वर्षेनी सञ्चालन गदै आएको छ। यो अवसरको फाइदा नेपाली कामदार नलिने सकेको उनी बताउँछन्। ‘अवैध कामदारले वैध हुने वा बिनाजरिवाना आफ्नो देश फर्किन अवसर छ। यसको सदुपयोग गर्ने दुतावासले आग्रह गरेको छ।’ उनले भने।
दूतावासले एम्नेष्टी कार्यक्रमको व्यापक प्रचारप्रसार गर्न गैरआवासीय नेपाली संघ, यूएईमा रहेका नेपालीका सामाजिक संघसंस्था तथा सञ्चारकर्मीलाई आग्रह समेत गरेको छ।
दूतावासको सूचनामा यूएई अध्यागमनबाट प्रक्रिया पूरा गर्नेले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र पाउने भन्दै जहाज टिकट भने आफैंले व्यवस्था गर्नुपर्ने भनिएको छ। भने, एकतर्फी यात्रा अनुमतिपत्र पाएकाले १४ दिनभित्र यूएई छोड्नुपर्ने दूतावासको सूचनामा भनिएको छ।
कतिपय अवैधमा रुपमा बसेका नेपालीहरुले लुकेर काम गर्दा यस्तो सूचना थाहा नपाउँदा कानुनी समस्यामा पर्ने गरेका छन्। हाल यूएईमा एक लाखभन्दा बढी नेपाली अवैध रुपमा बसेर काम गरिरहेको दूतावासको अनुमान छ। यूएईमा ४० हजारभन्दा बढी महिला कामदार अवैधमा बसेर काम गरिरहेको हुनसक्ने दूतावासले जनाएको छ।