सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न माग

हिमाल प्रेस १८ भदौ २०८१ १२:३४ | Tuesday, September 3, 2024
सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न माग एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ।

काठमाडौँ- नेपाली कांग्रेसका नेता शंकर भण्डारी र नेपाल प्रहरीका पूर्वप्रमुखहरूले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न माग गरेका छन्।

नेता भण्डारी र पूर्वप्रमुखहरूले छुट्टाछुट्टै विज्ञप्ति निकालेर मन्त्री गुरुङलाई बर्खास्त गर्न माग गरेका हुन्।

शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठन प्रमुखलाई अपशब्द प्रयोग गरेको भन्दै भण्डारीले सञ्चारमन्त्री बर्खास्त गर्न भनेका छन्।

‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्म लिएको प्रहरी संगठनका प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्रीबाद सार्वजनिक स्थलमा अवशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भत्र्सना गर्दै प्रधानमन्त्रीलाई सञ्चारमन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु,’ भण्डारीले भनेका छन्।

शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा त्यसको जिम्मेवार स्वयं सरकार र प्रधानमन्त्री हुने उनले बताएका छन्।

त्यस्तै नेपाल प्रहरीका पूर्वप्रमुखहरूले पनि सञ्चारमन्त्री गुरुङको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिई आवश्यक कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेका छन्।

प्रहरी महानिरीक्षकविरूद्ध प्रयोग गरेको अमर्यादित र अशोभनीय शब्दावलीले सञ्चारमन्त्रीको राजनीतिक कद घटाएको पूर्वप्रहरी प्रमुखहरूले बताएका छन्।

‘पदीय हैसियतम माननीय मन्त्रीज्यूसँग सबैले शालिन, सुसंस्कृत र पारस्परिक रुपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुन्छन्। यसको विपरित माननीय मन्त्रीज्यूबाट प्रहरी महानिरीक्षकविरूद्ध अमर्यादित र अशोभनीय शब्दावलीको जुन प्रयोग भयो त्यसले माननीयज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरी जस्तो गरिमामय र नेपाल सरकारको सबैभन्दा सक्रिय संगठनको नजरबाट माननीयज्यू गिर्नु भएको छ,’ पूर्वप्रहरी प्रमुखहरूले भनेका छन्।

सञ्चारमन्त्री गुरुङले अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुनेगरी सार्वजनिक कार्यक्रममा ‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने’ जस्ता शब्दहरूको प्रयोग गरेकोमा पूर्वप्रहरी प्रमुखहरूले आपत्ति जनाएका छन्।

सञ्चारमन्त्री गुरुङले हालसालै प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘आईजिपीको जिब्रो थुत्नुपर्ने’ बताएका थिए।

 

प्रकाशित: १८ भदौ २०८१ १२:३४ | Tuesday, September 3, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast