जेरूसेलम–इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहू सरकारविरूद्ध प्रदर्शन सुरू भएको छ। गजामा बन्धक बनाइएकाहरूलाई फिर्ता गर्न असफल भएको भन्दै प्रधानमन्त्री नेतन्याहूविरूद्ध प्रदर्शन भएको हो।
बन्धकहरूको रिहाइका लागि नेतन्याहू सरकारले हमाससँग सम्झौता गर्नुपर्ने प्रदर्शनकारीहरूको माग छ। प्रदर्शनकारीहरू तेल अवीव, जेरूसेलम र अन्य सहरहरूमा झण्डा लिएर सडकमा उत्रिएका छन्।
बन्धकहरूको रिहाइका लागि नेतन्याहू नेतृत्वको सरकारले चासो नदेखाएको उनीहरूको भनाइ छ। गत वर्ष अक्टुबरमा हमासले इजरायलमाथि आक्रमण गरेर सयौंको सयौँ जनालाई बन्धक बनाएर गजा लिएर गएका थिए।
आइतबार सुरूवाती चरणमा शान्तिपूर्ण प्रदर्शन भए पनि पछि प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोडेका थिए। तेल अविवमा राजमार्ग अवरूद्ध पारेर उनीहरूले प्रदर्शन गरेका थिए।
इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हड्तालको घोषणा गरेको छ। बन्धकको रिहाइका लागि सरकारले तत्काल हमाससँग सम्झौता गर्नुपर्ने उनीहरूको भनाइ छ।
हड्तालका कारण बैंक, ठूला मल र सरकारी कार्यालयहरू बन्द भएका छन भने सार्वजनिक यातायात पनि छिटपुटमात्रै चलेको बताइएको छ।
इजरायलको डिफेन्स फोर्स (आइडिएफ) ले शनिबार गजाको रफाह क्षेत्रस्थित एक सुरूङबाट ६ जना बन्धकको शव बरामद गरेको थियो। मृतकमध्ये एक जना अमेरिकी नागरिक थिए।
यो घटनापछि आफू निराश र आक्रोशित भएको अमेरिकाका राष्ट्रपति जो बाइडनले बताएका थिए।
हमासमाथि ‘पूर्ण विजय’ को प्रधानमन्त्री नेतान्याहूले वार्ताको असफलताका लागि हमासलाई दोष दिएका छन्। बन्धकको हत्या गर्नेहरूसँग सम्झौता नगर्ने अडान उनले लिएका छन्।