पर्वतका पूर्वप्रधानपञ्च बस्याल बने गण्डकीको पर्यटन मन्त्री

विजय नेपाल १७ भदौ २०८१ १६:१८
12
SHARES
पर्वतका पूर्वप्रधानपञ्च बस्याल बने गण्डकीको पर्यटन मन्त्री मित्रलाल बस्याल

पोखरा- प्रदेशसभाको दोस्रो कार्यकालका लागि २०७९ सालको प्रदेशसभा चुनावमा पर्वत १(ख) बाट एमाले नेता मित्रलाल बस्याल निर्वाचित भएका थिए। संसद्‌मा सबैभन्दा ज्येष्ठ सदस्यको रुपमा सोही वर्ष १३ पुसमा उनले तत्कालीन प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयता शपथ लिएका थिए।

२०१४ भदौ ५ मा पर्वतको हुवास (हाल पैयूँ गाउँपालिका ५) मा जन्मिएका उनी अहिले ७३ वर्षका भए। उमेरमा पाका उनै बस्यालले अहिले गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

संघीय सरकारमा कांग्रेस–एमाले सत्तागठबन्धनमा सहमतिको ठिक २ महिनापछि गण्डकी सरकार पुनर्गठन हुँदा एमालेले उनलाई मन्त्री पद दिएको हो। एमाले उपमहासचिव एवं गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङनिकट बस्यालले सोमबार पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गरेका छन्। उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष शपथ लिएका हुन्।

नवलपुरकी पदमा जिसी श्रेष्ठ नेतृत्वमा ४ मन्त्री लिएर एमाले सरकारमा गएको छ। पदमाले कृषि, भूमि, व्यवस्था तथा सहकारी, बागलुङका कृष्णप्रसाद पाठकले स्वास्थ्य र प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायातको जिम्मेवारी पाएका छन्। योसँगै गण्डकीमा ९ सदस्यीय मन्त्रिमण्डलले पूर्णता पाएको छ।

मित्रलालको राजनीतिक यात्रा भने २०३५ सालमा वडा सदस्यमा निर्वाचित भएसँगै शुरुवात भएको हो। २०४३ सालमा उनी जनपक्षीय प्रधानपञ्च समेत बने। २०४७ सालमा नेकपा एमाले पार्टीको सदस्य बनेका उनी २०४९ सालमा गाविस अध्यक्षमा निर्वाचित भए। २०४९ सालमा जिल्ला कमिटी सदस्य र २०५४ सालमा जिविस सदस्य चुनिए।

२०६२ सालमा नेकपा (एमाले) क्षेत्रीय कमिटी अध्यक्ष भएका बस्याल जिल्ला कमिटीमा लामो समयसम्म आबद्व भएर काम गरेको अनुभव छ। २०६३ सालमा अध्याँरो दक्षिण पर्वतलाई उज्यालो बनाउने अभियानका नेतृत्वकर्ता बस्याल सामुदायिक विद्युतीकरण उपभोक्ता महासंघको जिल्ला अध्यक्षसमेत बने।

२०७४ सालमा किसान महासंघको केन्द्रीय सदस्य भए। २०७४ सालको स्थानीय चुनावमा पैयूँ अध्यक्ष उम्मेदवार बनेका उनी हाल किसान महासंघको केन्द्रीय लेखा आयोगको उपाध्यक्षसमेत छन्।

२०७८ सालमा एमाले गण्डकी प्रदेश कमिटी सदस्य हँुदै सचिवालय सदस्य बने। २ वर्षअघि सांसद निर्वाचित हुँदा गएको वर्ष एमाले प्रदेश कमिटी सचिवालयमा निर्वाचित भए।

विभिन्न समयका आन्दोलनमा पटक पटक हिरासतको जीवन व्यहोराको उनीसँग अनुभव छ। सामन्तवादको विरुद्ध कडारुपमा प्रस्तुत हुने विकास निर्माणमा तल्लीन रहने बस्यालका श्रीमती, २ छोरा र ३ छोरी छन्।

प्रकाशित: १७ भदौ २०८१ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =