काठमाडौँ- जापानमा करिब ४० हजार मानिसको मृत्यु उनीहरू घरमा एक्लै हुँदा भएको छ। यस वर्षको पहिलो ६ महिनामा घरमा एक्लो जीवन बिताइरहेकाहरूको यो संख्यामा मृत्यु भएको हो।
यो आँकडा जापान प्रहरीले सार्वजनिक गरेको हो। जापान प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार चार हजार मानिसको शव मृत्यु भएको एक महिनापछि भेटिएको छ भने १३० जनाको शव करिब एक वर्षसम्म बेपत्ता अवस्थामा थियो।
संयुक्त राष्ट्र संघले जनाएअनुसार वर्तमान अवस्थामा जापानमा सबैभन्दा बढी वृद्धवृद्धाको जनसंख्या रहेको छ भने त्यहाँ एक्लोपना गम्भीर समस्याको रूपमा देखिएको छ।
एक्लै जीवनयापन गर्ने र एक्लै मृत्यु हुनेहरूबारे पछिल्लो समय आएको यो आँकडाले देशका वृद्धवृद्धाहरूको समस्या हल गर्न मद्त पुर्याउने त्यहाँको प्रहरीले विश्वास लिएको छ।
राष्ट्रिय प्रहरी एजेन्सीको तथ्यांकअनुसार एक्लै जीवनयापन गर्ने करिब ३७ हजार २२७ जना मानिस आफ्नो घरमा मृत भेटिएका थिए। उनीहरूमध्ये ७० प्रतिशत मानिस ६५ वर्ष वा त्योभन्दा बढीका थिए।
करिब ४० प्रतिशत मानिसको शव एकै दिन भेटिएको थियो भने करिब ३ हजार ९३९ जनाको शव मृत्यु भएको एक महिनापछि बरामद भएको बीबीसीले जनाएकाे छ।
जापानको राष्ट्रिय जनसंख्या संस्थान र सामाजिक सुरक्षा अनुसन्धानले सन् २०५० सम्म ६५ वर्ष वा त्योभन्दा बढी उमेर भएका नागरिकको संख्या १ करोड ८ लाखसम्म पुग्ने अनुमान गरेको छ।