गोलाप्रथाबाट छानिए केयरगिभरमा इजरायल जाने नेपाली कामदार

हिमाल प्रेस १३ भदौ २०८१ २१:३३
16
SHARES
गोलाप्रथाबाट छानिए केयरगिभरमा इजरायल जाने नेपाली कामदार

काठमाडौँ- मित्र मुलुक इजरायलमा केयरगिभर क्षेत्रमा काम गर्न जाने नेपाली सहायक कामदारहरूलाई बिहीबार गोलाप्रथाबाट छनोट गरेको छ। इजरायलको जेरुसेलमस्थित पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीबा)को कार्यालयमा सम्पन्न गोलाप्रथा कम्प्युटरको प्रयोगमार्फत् गरिएको हो। धेरै जना भएकाले समय बचाउन कम्प्युटरबाट छनोट गरिएको पीबाले जनाएको छ।

इजरायलका अध्यागमन निर्देशक मोशे नकासलगायत पीबाका प्रमुख अधिकारीहरूको उपस्थितिमा सम्पन्न उक्त गोलाप्रथा प्रक्रियाबाट २ हजार २ सय उम्मेदवार चयन भएका छन्। यसका लागि ४ हजार २४ जनाले निवेदन दिएका थिए। ३ सय २१ जना मापदण्डमै परेनन् भने २ सय ४२ जना इजरायल पुगेर फर्केका थिए।

बाँकी ३ हजार ४ सय ६१ बाट २२ सय जना चयन भएका हुन्। तीमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहेको पिबाका अधिकारीहरूले बताए।

काठमाडौंस्थित इजरायली दूतावासमा उक्त छनोट प्रक्रियाको भिडियो कन्फ्ररेन्समार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो। इजरायली राजदूत खनान गोदरले सहजीकरण गरेको उक्त प्रत्यक्ष प्रसारणमा नेपालको परराष्ट्र मन्त्रालयका प्रतिनिधि तारा भट्टराईको उपस्थिति थियो। साथै मिडियाकर्मीहरूको पनि सहभागिता थियो।

पीबाका अधिकारीहरूले छनोट प्रक्रियालाई पूर्ण पारदर्शी र निष्पक्षता सुनिश्चित गर्नका लागि इजरायलले कामदार भित्र्याउने तयारी गरेको नेपाललगायत १६ मुलुकसँग नै कम्प्युटरको माध्यमबाट गोलाप्रथा गरिएको जानकारी दिए। छनोटमा परेका उम्मेदवारहरूको नामावली छिट्टै सार्वजनिक गरिने जानकारी दिँदै उनीहरूले छनोट भएका उम्मेदवारहरूले अन्तिम चरणको स्वास्थ्य परीक्षण गराउनुपर्ने र भिसा फ्री अनि टिकट लिएर सोझै काममा जान सक्ने बताए।

शारीरिकरूपमा सक्षम प्रमाणित भएका उम्मेदवारहरूलाई आगामी सेप्टेम्बरदेखि क्रमैसँग इजरायल पठाइनेछ। आफ्नो कार्यकाल सकिन लागेका खनानले आफू एक टोलीसँग सीधै इजरायल फर्कन पाए भने अझ भाग्यमानी ठानिने बताए। यो कार्यक्रमलाई नेपाल र इजरायलबीच चलिरहेको सहकार्यमा एक महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ। इजरायलको दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारहरूको माग गरेको थियो।

वैदेशिक रोजगार विभागले गत साउन २१ गते एक हजार ५ सय ९८ महिला र एक हजार ८ सय ६३ जना पुरुष गरी ३ हजार ४ सय ६१ जनाको नाम छनोट गरी पीबालाई पठाएको थियो। आवेदन दिएकामध्ये २ सय ४२ जनाको कागजात नपुगेको कारण र ३ सय २१ जनाको अन्य कारणले आवेदन रद्द भएको थियो।

विभागले पठाएको नामावलीमाथि पीबाले ती व्यक्तिहरू यसअघि इजरायल आएनआएको, इजरायलमा कुनै आपराधिक गतिविधिमा संलग्न भएनभएको र इजरायलमा कुनै आफन्त रहे नरहेको विषयमा छानबिन गरेर सफल उम्मेदवारलाई मात्रै गोलाप्रथामा समावेश गरेको हो। यसले निष्पक्षताको कदर हुने र पाँच वर्ष इजरायल बसेर राम्रो रकम कमाएर नेपाल फर्कने पनि राजदूतको दाबी छ।

प्रकाशित: १३ भदौ २०८१ २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =