कृषि मन्त्री अधिकारी र युएसएआइडीका मिसन निर्देशकबीच भेट, कृषिमा लगानी बढाउन अधिकारीको जोड

हिमाल प्रेस १३ भदौ २०८१ १५:२२
8
SHARES
कृषि मन्त्री अधिकारी र युएसएआइडीका मिसन निर्देशकबीच भेट, कृषिमा लगानी बढाउन अधिकारीको जोड

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोन मिक्स र युएसएआइडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित कृषि मन्त्रालयमा बिहीबार भएको भेटमा दुई देश (नेपाल र संयुक्त राज्य अमेरिका) बीचको आपसी सद्भाव, समझदारी, सहयोगका साथै विविध विषयमा छलफल भएको छ।

भेटका क्रममा मन्त्री अधिकारीले अमेरिकाले सन् १९५० को दशकदेखि नेपालको सामाजिक, आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको स्मरण गरे। भेटका अवसरमा उनले आगामी दिनमा कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी आर्थिक सहयोगका लागि आग्रहसमेत गरेका छन्।

सरकारको दिगो विकास लक्ष्य प्राप्तिका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, कृषि अनुसन्धानलाई बढवा दिने, कृषि पूर्वाधारको विकासलाई तीव्रता दिने, उत्पादित कृषि उपजको आन्तरिक एवं बाह्य बजारमा सहज पहुँच राख्ने, नेपालको भौगोलिक क्षेत्र विशेष कृषि उत्पादनलाई अन्तर्राष्ट्रियकरण गरी कृषि पर्यटनसमेतको सम्भावनालाई साकार पार्ने योजना रहेको मन्त्री अधिकारीले भेटका क्रममा उल्लेख गरे।

दिगो विकासका लक्ष्य प्राप्ति हुनेमा जोड दिँदै मन्त्री अधिकारीले भने, ‘विश्वव्यापी भोकमरीको अन्त्यका लागि योगदान गर्ने हामीले लक्ष्य लिएका छौँ। यी लक्ष्यहरू पूरा गर्न ठुलो लगानीको आवश्यकता पर्ने हुन्छ, यसका लागि युएसएआइडीको पहलमा संयुक्त राज्य अमेरिका सरकारबाट आवश्यक भूमिका निर्वाह हुनेछ र सहयोग प्राप्त हुनेछ भन्ने मैले आशा गरेको छु।’

नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री अधिकारीले उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने पनि लक्ष्य लिएको बताए।

अमेरिकी सरकारको सहयोगमा चालु आर्थिक वर्षबाट सुरु हुन लागेको ‘एग्रिकल्चर ट्रान्सफर्मेसन’ आयोजनाको आईएल हस्ताक्षर गर्न केही समस्या परेको जानकारी आफूले पाएको मन्त्री अधिकारीको भनाइ थियो। ‘यस विषयलाई मैले गम्भीर रूपमा लिएको छु। समस्या समाधानको लागि यस मन्त्रालयले अर्थ मन्त्रालयसँग आवश्यक पहल तथा समन्वय गरिरहेको छ,’ उनले भने, ‘मैले आफ्नो व्यक्तिगत तर्फबाट पनि अर्थमन्त्रीज्यू सँग छलफल गरेको छु। यस विषयले चाँडै निकास पाउनेमा म आशावादी छु।’

आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन नेपालले संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय र बहुपक्षीय तहमा नजिकबाट काम गर्न तत्पर रहेको अधिकारीले बताएका थिए।

युएसएआइडी मिसन डाइरेक्टरले अधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै कृषिसहित नेपालको आर्थिक विकासमा आफूहरू सहकार्य गर्न तयार रहेको आश्वासन दिएका छन्।

प्रकाशित: १३ भदौ २०८१ १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =