गोकुलेश्वरमा पदयात्रा

हिमाल प्रेस २ भदौ २०८१ २०:१७ | Sunday, August 18, 2024
गोकुलेश्वरमा पदयात्रा

काठमाडौँ- काठमाडौँ नजिक रहेको नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित गोकुलेश्वर झरनामा पदयात्रा सुरु भएको छ। स्थानीय गोकुलेश्वर झरना पर्यावरण संरक्षण समितिको पहलमा शनिबार उक्त झरनामा व्यावसायिक पदयात्रा र अवलोकन शुभारम्भ गरिएको हो।

प्रेस काउन्सिल नेपालका अध्यक्ष एवं पर्यावरण अभियन्ता बालकृष्ण बस्नेतले गोकुलेश्वर झरना र सँगै रहेको गोकुलेश्वर महादेव दर्शनका लागि पर्यटक भित्र्याउन सके स्थानीयको आयआर्जनमा वृद्धि हुने बताए। ‘अत्यन्त रमणीय ठाउँको पहिचान र विकासका लागि गरिएको यो पहलकदमी सराहनीय छ। प्रकृतिलाई बचाउन सकियो भने मात्र हामी पनि बाँच्छौँ  र भावी पुस्ता पनि सुरक्षित हुन्छन् भन्ने कुरा हामी सबैले मनन गर्न आवश्यक छ,’ उनले भने, ‘शिवपुरी क्षेत्रका खोलानाला, वन, झरनासहितका सम्पदाको संरक्षण र उपयोग गर्न सके स्थानीय जनताको जीवनस्तर उकास्न टेवा पुग्ने पक्का छ।’

गोकुलधूप झरना र गोकुलेश्वर महादेव काठमाडौँबाट करिब एक घण्टाको दूरीमा छ। नुवाकोटको शिवपुरी गाउँपालिकामा पर्ने यो झरनास्थलमा काठमाडौँबाट सामाखुसी, गुरुजेभञ्ज्याङ, काफलडाँडासम्म टोखा छहरे सडक हुँदै मोटरसाइकल वा निजी गाडीबाट सजिलै पुग्न सकिन्छ।

मुख्य मार्गमा झरेर झरनासम्म पुग्न करिब चार–पाँच मिनेट पैदल हिँड्नुपर्छ। हालै स्थानीय बासिन्दाले पदमार्ग निर्माण गरेका छन्, जसले यात्रा अझ सहज बनाएको छ।

गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले स्थानीयवासीको अग्रसरतामा हुने हरेक काममा स्थानीय सरकार सधैँ साथ रहने बताए। उनले गाउँपालिकाले शिवपुरी क्षेत्रको पर्यटकीय विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

प्रकाशित: २ भदौ २०८१ २०:१७ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast