मधेश प्रदेश : प्रदेश वन निर्देशनालयको नवनिर्मित भवन विवादमा

नेहा झा २ भदौ २०८१ १७:४९
32
SHARES
मधेश प्रदेश : प्रदेश वन निर्देशनालयको नवनिर्मित भवन विवादमा

जनकपुरधाम- मधेश प्रदेशको वन निवर्देशनालयको नवनिर्मित भवन विवादमा तानिएको छ। भवनको शिलालेखमा प्रदेश वन निर्देशनालयका निर्देशक जगन्नाथप्रसाद जयसवालले आफ्नो नाम लेख्न लगाएपछि नवनिर्मित भवन विवादमा तानिएको हो।

केही दिनअघि मुख्यमन्त्री सतिशकुमार सिंह र वन तथा वातावरणमन्त्री त्रिभुवन साहले निर्देशनालय भवनको संयुक्त रूपमा उद्घाटन गरेका थिए। भवन उदघाट्नका लागि बनाइएको शिलालेखमा मुख्यमन्त्री सिंह र मन्त्री साहसँगै निर्देशक जयसवालले आफ्नो नामसमेत लेख्न लगाएका थिए।

आफू निर्देशक छँदा भवन निर्माण भएको दर्शाउने उद्देश्यले निर्देशक जयसवालले शिलालेखमा आफ्नो नाम लेख्न लगाएका हुन्। शिलालेखमा आफ्नो नाम लेख्न लगाएपछि जयसवालको आलोचना भइरहेको छ।सरकारको बजेटमा निर्माण भएको भवनमा निर्देशक जयसवालले आफ्नो नाम लेख्न लगाएपछि आलोचना भइरहेको हो। निर्देशक जयसवाल भने आफूलक्षित आलोचनालाई खुट्टा तान्ने प्रवृत्ति बताउँछन्।

मधेशमा राम्रो काम गर्दा पनि खुट्टा तान्ने प्रवृत्ति रहेको उनको भनाइ छ। जयसवालले भने,‘मैले यस्तो दर्जनौं स्थानमा देखेको छु, यो कुनै नौलो विषय होइन।’

नराम्रो कामको आलोचना गर्नु स्वभाविकै भए पनि मधेशमा राम्रो काम गरेर देखाउँदा पनि खुट्टा तान्ने प्रवृत्ति रहेको उनले बताए।
‘प्रदेश सरकार मातहत रहेको निर्देशनालयले आफ्नै भवन पाएको छ, भाडाको कार्यालयबाट मुक्ति पाएको छ, यसमा हामी खुशी हुनुपर्ने हो, तर मेरै आलोचना देखेर आश्चर्य लागिरहेको छ,’ उनले भने।

यसअघि प्रदेश वन निर्देशनालय रेडक्रसको भवन भाडा लिएर सञ्चालन हुँदै आएको थियो। भाडाको भवनका लागि निर्देशनालयले हरेक महिना १ लाख बहाल तिर्नु परेको थियो। तर, नयाँ भवन निर्माण भएसँगै त्यो आर्थिक भारबाट निर्देशनालयले मुक्ति पाएको छ।

निर्देशनालयको नवनिर्मित तीनतले भवन भेरिएसनसहित कुल ५ करोड १० लाख ७२ हजार ९९५ रूपैयाँ लागतमा निर्माण भएको छ।

प्रकाशित: २ भदौ २०८१ १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast