डाक्टर बलात्कार–हत्या घटना : भारतको सरकारी अस्पतालहरूमा चिकित्सकीय सेवा ठप्प

हिमाल प्रेस १ भदौ २०८१ १५:२६
12
SHARES
डाक्टर बलात्कार–हत्या घटना : भारतको सरकारी अस्पतालहरूमा चिकित्सकीय सेवा ठप्प फाइल तस्बिर

काठमाडौँ- भारतको कोलकत्तास्थित के आरजी कर अस्पतालमा एक महिला चिकित्सकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा देशभरका डाक्टरहरू प्रदर्शनमा उत्रिएका छन्। इन्डियन मेडिकल एसोसिएसन (आईएमए) ले कोलकत्ता घटनालाई लिएर विरोध प्रदर्शन गर्दै शनिबार देशभर कामकाज ठप्प पारेका छन्।

शनिबार बिहान ६ बजेदेखि २४ घण्टाका लागि चिकित्सा सेवा बन्द गर्ने निर्णय आईएमएले गरेको हो। ओपिडी र शल्यक्रियाजस्ता सेवा बन्द रहे पनि आक्समिक सेवा भने सञ्चालनमा रहने उसले जनाएको छ।

आईएमएको आह्वानपछि भारतभरका सरकारी अस्पतालहरूमा चिकित्सकीय सेवा प्रभावित भएको छ। चिकित्सकीय सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरूले कठिनाइको सामना गर्नु परिरहेको बीबीसीले जनाएकाे छ।

कोलकत्ता घटनालाई लिएर सीबीआईले छानबिन सुरू गरेको छ। कोलकत्ताको के आरजी कर अस्पतालमा इन्टर्नसीप गरिरहेकी एक डाक्टरको केही दिनअघि बलात्कारपछि हत्या भएको थियो। मेडिकल कलेजमा पढिरहेकी ती महिला डाक्टरको शव शुक्रबार बिहान सेमिनार हलमा बरामद भएको थियो। उनी खाना खाएर सेमिनार हलमै सुतेकी थिइन्।

प्रहरीका अनुसार बलात्कार र हत्याको यो घटना बिहान तीन बजेदेखि ६ बजेको बीचमा भएको हो। प्रहरीले यो घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा समेत लिएको छ। घटनाको छानबिन सुरू भएको ६ घण्टा नबित्दै प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको थियो।

घटनास्थलबाट बरामद प्रमाणहरूका आधारमा प्रहरीले शंकास्पद अभियुक्तलाई नियन्त्रणमा लिन सफल भएको थियो।घटनास्थलबाट प्रहरीले ‘ब्लूटुथ इयरफोन’ बरामद गरेको थियो। र, त्यो अभियुक्तको फोनमा कनेक्ट भयो।

यसबाहेक सीसीटिभी फुटेजमा पनि अभियुक्त आकस्मिक भवनमा बिहान चारबाजे प्रवेश गरेको देखिएको थियो। त्यो बेला उनले इयरफोन लगाएका थिए। तर, ४० मिनेटपछि बाहिर निस्किएका उनको कानमा इयरफोन थिएन।

पक्राउ परेका अभियुक्त कोलकत्ता प्रहरीसँग मिलेर सामाजिक स्वयंसेवकका रूपमा काम गरेका व्यक्ति हुन्। उनी कैयौंपटक अस्पताल बाहिर रहेको प्रहरी चौकीमा पनि ड्युटी गरेका थिए। नजिकैको प्रहरी चौकीमा समेत काम गरिसकेकाले अस्पतालमा उनको सहज पहुँच रहेको प्रहरीको अनुमान छ।

प्रदर्शनमा उत्रिएका डाक्टरहरू पक्राउ परेका ती अभियुक्तलाई फाँसी दिन माग गरिरहेका छन्। यहाँसम्म कि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि आरजी कर अस्पताल घटनामा पक्राउ परेका अभियुक्तलाई आइतबारसम्म फाँसी दिन माग गरेकी छन्।

प्रकाशित: १ भदौ २०८१ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast