कमला पुल : पप्पुले हात झिक्यो, लुम्बिनी बिल्डर्सको पनि उही हालत 

संघर्ष समितिले दियो आमरण अनशनको चेतावनी

नेहा झा ३० साउन २०८१ १२:५२
10
SHARES
कमला पुल : पप्पुले हात झिक्यो, लुम्बिनी बिल्डर्सको पनि उही हालत  अलपत्र भएको कमला पुल। फाइल तस्बिर

जनकपुरधाम–  साउन २७ गते कमला नदीमा पुल निर्माणको माग गर्दै आन्दोलन घोषणा गरेको संघर्ष समितिले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझायो। संघर्ष समितिले सात दिनभित्र माग कार्यान्वयन नभए मुख्यमन्त्री कार्यालयअगाडि भदौ ५ देखि आमरण अनशन बस्नेसम्मको चेतावनी दिएको छ।

मुख्यमन्त्री सिंहले ज्ञापनपत्र बुझ्दै प्रदेश सरकार मातहतको विषय नरहे पनि संघ सरकारसँग समन्वय गरेर कमला पुल मर्मत प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। तर पुल मर्मतको काम कहिले सुरु हुने अझै टुंगो छैन।

कमला नदीले धनुषा र सिरहा जिल्लालाई जोड्छ। सोही नदीमा निर्माण सम्पन्न नहुँदै भासिएको तीन वर्ष बितिसक्दा पनि मर्मतको सुरसार छैन। तीन वर्षअगाडि बाढीका कारण भासिएपछि पुल भत्किएको थियो। भत्किएको तीन वर्षपछि पनि हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने सो पुलको मर्मत नभएपछि सिरहाका स्थानीय आन्दोलित भएका छन्।

हुलाकी राजमार्ग हुँदै दुवै जिल्ला जोड्ने एकमात्र माध्यम उक्त पुल हो। पुल भासिएपछि स्थानीय जोखिम लिएर आवतजावत गर्न बाध्य छन्। त्रुटिपूर्ण डिजाइन र गुणस्तरहीन कामका कारण उद्घाटन हुन एक साता मात्रै बाँकी छँदा ती वर्षअगाडि २४ करोड ४२ लाख रुपैयाँको लागत निर्माण गरिएको सो पुलको यस्तो हबिगत भएको थियो।

हुलाकी राजमार्ग आयोजना जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले पुल मर्मत सुरु हुन नसकेको भन्नु गलत भएको दाबी गरे। उनले पुल मर्मतको काम चलिरहेको तर जुन गतिमा हुनुपर्ने हो त्यो गतिमा नभएको स्वीकारे। उनले भने, ‘काम सुस्त गतिमा हुनुको मूल कारण ठेकेदारको भुक्तानी हुन नसक्नु, इन्स्योरेन्स कम्पनीले रकम नदिनु, ठेक्केदार कम्पनीमा आर्थिक अभाव हुनु हो।’

प्रमुख महतोका अनुसार निर्माण कम्पनीले इन्स्योरेन्सबाट पाउनुपर्ने क्षतिपूर्ति पाउन नसकेकाले क्षतिपूर्ति माग गर्दै उच्च अदालतमा मुद्दा पुगेको जानकारी प्राप्त भएको छ। अदालती प्रक्रिया तथा क्षतिपूर्ति पाउन नसकेका कारण पूल मर्मत सुस्त गतिमा चलिरहेको उनी बताउँछन्। उनका अनुसार सिरहातर्फको पुलको दुईवटा पिलरको जग बनाउने काम सम्पन्न  भइसकेको छ।

२०६८ साल मंसिरमा शिलान्यास भएको ४७० मिटर लामो पुलको १२ वटामध्ये २०७८ साल असार २० गते आएको बाढीका कारण दुईवटा पिलरसँगै स्ल्याब पनि भाँचिएको थियो। ४७० मिटर लामो र ११ मिटर चौडाइको सो पुल निर्माण गर्ने ठेक्का पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्स्ट्रक्सनले २४ करोड ९१ लाखमा २०६८ जेठ ३१ मा लिएको थियो।

तीन वर्षमै सम्पन्न गर्ने भनी ठेक्का लिए पनि निर्माण कम्पनीले समयमा काम गर्न नसक्दा पटकपटक म्याद थप गर्दै अन्ततः पप्पु कन्स्ट्रक्सनले हात झिक्यो, बाहिरियो। २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनले सो कामको जिम्मा पायो। लुम्बिनी बिल्डर्सले कार्य सम्पन्न भएको देखाएर २०७८ असारमा उद्घाटन गर्ने तयारी गरेको थियो। तर उद्घाटन हुनुभन्दा एक साता पहिले नै सिरहा नगरपालिका-६ बसपिट्टा घाटनजिकै पुल भासिएको थियो। भासिएपछि दुईवटा स्ल्याब ७८.२० मिटर तल झरेको थियो।

प्रकाशित: ३० साउन २०८१ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =