काठमाडौँ- सत्ता छाडेर समीक्षामा जुटेको नेकपा माओवादी केन्द्रभित्र आरोपप्रत्यारोपको शृंखला चलिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको स्थायी समिति बैठकमा आइतबार नेताहरू नेतृत्वको आलोचनामा उत्रिएका छन्। बैठकमा अधिकांश नेताहरूले अध्यक्ष प्रचण्डमाथि प्रश्न उठाएका हुन्।
पार्टी उपमहासचिव जनार्दन शर्माले प्रचण्डमाथि विभिन्न असन्तुष्टि राख्दै लिखित असहमति राखेका छन्। शर्माले आफूलाई एमालेमा जान लागेको, पार्टी संगठन ध्वस्त पार्न लागेको जस्ता आरोप लगाइएको उल्लेख गरेका छन्। अध्यक्ष प्रचण्डले निरन्तर प्रहार गरेको गुनासो शर्माको छ।
शर्माले लेखेका छन्, ‘पार्टी फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आमकार्यकर्ता र जनतामा पार्टी फुट्ने त्रास फैलिएको छ।’ साथै उनले देशभरिबाट दैनिक सयौँ कार्यकर्ताले फोन गरी पार्टी फुट्दैछ भनेर सोध्ने गरेको पनि उल्लेख गरेका छन्। यसअघि प्रचण्डले विभिन्न ठाउँमा पुगेर भाषणमा पार्टी विभाजनमा जान सक्ने अभिव्यक्ति दिएका थिए। यसमा समेत आफ्नो नाम प्रचण्डले लिने गरेको शर्माको आरोप छ।
‘प्रचारबाजीलाई मद्दत पुग्नेगरी पोखरामा आइपुग्दा मूल नेतृत्वले पार्टी फुटतिर उन्मुख छ भनेपछि कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूले पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो’, शर्माले लेखेका छन्।
मूल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्न रहेको शर्माको दस्तावेजमा उल्लेख छ। ‘ती प्रश्नको जबाफ दिने झन्झटतिर लाग्नुभन्दा आमपंक्तिलाई तरंगित पार्ने विषय हालिदिएर ध्यान अर्कैतिर मोड्ने उद्देश्य छ’, शर्माले लेखेका छन्।
‘ससाना अन्तरविरोध समाधान गर्न झन् ठूलो अन्तरविरोध सृजना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको छ,’ उनको दस्तावेजमा उल्लखे छ। शर्माले १४ पृष्ठको लिखित प्रस्ताव छलफलमा ल्याएका हुन्। शर्माले आठौँ महाधिवेशनको समापनपूर्व नै विशेष महाधिवेशनको घोषणा गरेर महाधिवेशनको महत्त्वलाई हलभित्रै समाप्त पारेको विषयमा पनि प्रश्न गरेका छन्।
शर्माले पार्टीलाई विधि र पद्धतिमा लैजाने संकल्पका रूपमा आयोजना गरिएको विधान महाधिवेशन हलमा उत्साहका साथ भएका छलफल र हलको अभिमतलाई अस्वीकार गरिएको विषयमा पनि प्रश्न गरेका थिए। नेतृत्व तहबाटै समानान्तर कमिटीहरू सञ्चालन गरिएको, सरकारको गठबन्धन बारम्बार फेरिरहेको बारे गरिएको प्रश्नमा पनि प्रचण्डले नरुचाएको शर्माको धारणा थियो।
शर्माले पार्टीको नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका छन्। उनले संसदीय नेतृत्वमा प्रचण्डलाई पठाउने र पार्टीमा विकल्प खोज्नुपर्ने प्रस्ताव गरेका हुन्। नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने उनको प्रस्ताव छ।
शर्माले लेखेका छन्, ‘नेतृत्व पुस्तान्तरण गर्ने हो भने अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्नुपर्छ।’ हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्यांकन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवालाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्नु शर्माको प्रस्ताव छ।
शर्माले ओरालो यात्रामा रहेको माओवादीलाई पुनः गति दिन आवश्यक रहेको भन्दै त्यसका लागि पार्टीले प्रभावकारी प्रतिपक्षको भूमिका खेल्नुपर्ने प्रस्ताव गरेका छन्। २०८४ सम्म सरकारमा नजाने घोषणा गर्नुपर्ने सर्त उनको छ।
शान्तिप्रक्रियालगत्तै समग्र पार्टी पंक्तिलाई अभियानात्मक रूपले उत्पादन र रोजगारी सिर्जनाका काममा आह्वान गर्दै हजारौँलाई अभियानमा जोड्न आवश्यक भए पनि यस सवालमा पार्टी रनभुल्लमा परेको प्रस्तावमा उल्लेख छ। यससम्बन्धी प्रस्ताव पार्टीमा राख्दासमेत कुनै सुनवाइ नभएसँगै पार्टीको ओरालो यात्रा सुरु भएको दाबी शर्माले गरेका छन्।
पार्टीका तर्फबाट संवैधानिक र नीतिगत व्यवस्थालाई आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणमार्फत संस्थागत गरी स्थायित्व दिनु आवश्यक भए पनि त्यसो हुन नसकेको शर्माले उल्लेख गरेका छन्।
भूमिसुधार र भूमिको व्यवस्थापनमार्फत जनजीविकाको प्रबन्ध मिलाउन नसकिएको, भूमि र कृषि क्षेत्रलाई नजरअन्दाज गरिएको, कृषिमा आश्रित ठूलो जनसंख्यालाई कृषिमा आधारित उद्योगमार्फत रोजगारी दिलाउन नसकिएको र समग्र खाद्य संकट समाधान गर्न नसकिएको शर्माको निष्कर्ष छ।
त्याग, बलिदान र जनताको योगदानबाट प्राप्त उपलब्धिहरू आखिर केका लागि भन्ने प्रश्न उठेको शर्माको प्रस्तावमा उल्लेख छ। ‘त्यसपछि माओवादी पार्टी योजनाविहीन र संगठनविहीन बन्न पुग्यो। आज हामीसँग संविधानका अलावा न जनाधार छ, न संगठन छ। केही सीमित उपलब्धिबाहेक न कुनै देखाउनलायक कामहरू छन्, न हाम्रो कुनै मौलिक विकासको मोडेल छ’, प्रस्तावमा उल्लेख छ, ‘हाम्रा एजेन्डा खोसिँदै जाँदा हामीलाई माया गर्ने वर्ग, जाति, समुदाय हाम्रा व्यवहार र निर्णयले टाढिएको छ। सहरी जनमानस त हामीप्रति आकर्षित हुन सकेको छैन।’
शर्माले २०६४ को चुनावमा १२० सिट दिलाउने मतदाता र निर्वाचन क्षेत्र अहिले खोसिएको अवस्था रहेको भन्दै अब पार्टी शून्यतर्फ उन्मुख भएको उल्लेख गरेका छन्। पार्टीमा जो जति छन् ती सबै असन्तुष्टि बोकेर बाँचेको पनि शर्माको प्रस्तावमा उल्लेख छ।
समस्याको मुख्य कारण के?
शर्माले माओवादीको समस्याको मूल कारणलाई ९ बुँदामा समेटेका छन्। ‘माओवादी संघर्ष नयाँ आन्दोलनका रूपमा विकसित भएको थियो। यो आन्दोलन महिला, जनजाति, दलित, सीमान्तकृत, मधेसी, उत्पीडित वर्ग र समुदायको साझा आन्दोलन हुन पुगेको थियो’, प्रस्तावमा भनिएको छ, ‘आन्दोलनबाट राष्ट्रिय सहमतिमा ओर्लँदा त्यसमा सहभागी समूह र शक्तिलाई पार्टीमा कसरी संगठित र रूपान्तरित गर्ने भन्ने एक अहम् प्रश्न थियो। त्यसका लागि सोच, योजनालगायत युद्धकालीन कमान्ड प्रणालीबाट लोकतान्त्रिक संगठनात्मक प्रणालीमा रूपान्तरण आवश्यक थियो। तर संगठनात्मक संरचना र नेतृत्व प्रणालीमा युद्धकालीन सोचकै निरन्तरतामा रह्यो।’
जसअनुसार माओवादी आन्दोलनमा आफ्नो जीवन समर्पण गरेका महिला, जनजाति, दलित, सीमान्तकृत, मधेशी, उत्पीडित वर्ग र समुदाय बिस्तारै आन्दोलनबाट अलग हुँदै गएको शर्माको बुझाइ छ।
यस्तै छरपस्ट हुँदै गएको जनमतबारे चिन्ता जाहेर गर्ने संस्थागत परिपाटी निर्माण हुन नसकेको, पार्टीभित्र अन्तरसंघर्ष सञ्चालन र व्यवस्थापन गर्ने कार्यप्रति अरुचि बढ्दै गएको, पार्टीमा परिवारवाद हाबी भएको, पार्टीभित्र मुद्दाविशेषमा कमी कमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइएको, विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाउन भन्दा डर मान्नुपर्ने स्थिति बनेको, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सिर्जना भएको, पार्टी सञ्चालनको मूल्य मान्यता, विधि, पद्धतिको धज्जी उठाइएको शर्माको दस्ताबेजमा उल्लेख छ।
संघर्षबाट शान्तिमा आएको माओवादी लक्ष्यविहीन र एजेन्डाविहीन हुँदै समाज रूपान्तरणको अभियानबाट बिस्तारै आफ्नो निजी स्वार्थ र सुविधा उन्मुख भएको उल्लेख गर्दै शर्माको प्रस्तावमा भनिएको छ, ‘एकथरी नेता कार्यकर्ताहरू पद र सुविधा तथा अर्कोथरी अभाव र पीडामा भौँतारिने वातावरण निर्माण भयो।’
उनले लेखेका छन्, ‘क्रान्तिमार्फत शान्तिमा आउँदा समग्र राष्ट्रलाई संविधानसभा, संविधान, संघीयता, समावेशी लोकतन्त्रको मार्गचित्रमा डोर्याएको माओवादी आफैँ किंकर्तव्यविमूढ हुन पुग्यो। शान्तिप्रक्रियापछिका लगभग दुई दशकसम्म यदाकदाबाहेक कार्यकर्ताहरूको उचित व्यवस्थापन त परै जाओस् उनीहरू कामविहीन भए। ती कार्यकर्तालाई क्रियाशील बनाउने स्पष्ट एजेन्डा र कार्यक्रम भएन।’
पार्टी निर्माणको अबका कार्यनीति
पार्टी अझै पनि निर्माण गर्न सकिने भन्दै शर्माले प्रस्तावमा आफ्नो १६ बुँदे कार्यनीति अघि सारेका छन्। शर्माले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थव्यवस्था र गन्तव्य परिभाषित गर्नु आजको मुख्य कार्यभार भएको जनाएका छन्। साढे ४ दशकदेखि राज्यले अख्तियार गर्दै आएको नवउदारवादी अर्थतन्त्रबारे पार्टीको स्पष्ट धारणा आवश्यक हुनुपर्ने पनि उनको भनाइ छ।
उनले प्रस्तावमा भनेका छन्, ‘मुलुकले खोजेको र्याडिकल रिफर्मका कार्यक्रमहरू जस्तै, प्रगतिशील कर प्रणाली, भूमिसुधार तथा व्यवस्थापन, गरिबी अन्त्य, औद्योगीकरण रणनीति, अन्तर्राष्ट्रिय व्यापार रणनीति, रोजगारमूलक पूर्वाधार निर्माण, जनमुखी शिक्षा तथा स्वास्थ्य रणनीति आदि तयार पार्नुका साथै दलाल पुँजीवादविरुद्ध आत्मनिर्भर अर्थतन्त्रको विकास आजको अर्को महत्वपूर्ण कार्यभार हो। उपर्युक्त कार्यभार पूरा गर्न पार्टीलाई तयार बनाउने।’
पार्टीले गरेको राम्रा कार्यबारे जनतालाई सुसूचित गराउने, आर्थिक रूपान्तरणको मुद्दा सशक्त बनाउने, शिक्षा, स्वास्थ्यलगायतका एजेन्डालाई जनताको चाहनाअनुसार अघि बढाउने शर्माको प्रस्ताव छ।
यस्तै संविधान निर्माणका क्रममा बाँकी एजेन्डाहरू, मुख्यतः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, निर्वाचन प्रणाली, राज्यको पुनर्संरचना, जातीय, भाषिक, सांस्कृतिक पहिचान आदि मुद्दाहरूमा जनमत निर्माणका लागि कार्यक्रम बनाउने, संविधानको रक्षा र सामाजिक न्याय स्थापनाका लागि सामाजिक सत्ताको नेतृत्वमा सामाजिक सांस्कृतिक रूपान्तरणका लागि अभियानहरू सञ्चालन गर्नुपर्ने शर्माको प्रस्ताव छ।