काठमाडौँ- इंग्लिस एफए कम्युनिटी सिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ।
वेम्बलीमा भएको खेलमा अन्तिम समयमा दुबै टिमले गोल गर्दा खेल रोमाञ्चक रूपमा १-१ गोलको बराबरी भएको थियो। निर्धारित समय १-१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिएको थियो, जहाँ ७-६ ले सिटीले जित निकाल्दै उपाधि जित्यो। जित नजिक पुगेको युनाइटेडविरुद्ध सिटीले अन्तिम मिनेटमा गोल गर्दै खेल रोमाञ्चक बराबरीमा ल्याएको थियो।
बर्नान्डो सिल्भाले सिटीको संकट टारेका थिए। यद्यपि त्यसअघि युनाइटेडले अलेजान्ड्रो गार्नाचोले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै ८२ औं मिनेटमा अग्रता दिलाएका थिए। तर बर्नान्डो सिल्भाले अन्तिम मिनेटमा ओ बबको आकर्षक पासलाई हेडमार्फत जाली चुमाउँदै सिटीलाई बराबरीमा फर्काए। त्यसपछि सुरु भएको पेनाल्टी सुटआउटमा सिटीका बर्नान्डोको प्रहार रोक्दा युनाइटेडले खेलमा अग्रता बनाएको थियो।
तर युनाइटेडको चौंथो प्रहारलाई एडर्सनले जोडन सान्चेजको प्रहार बचाएका थिए। त्यसपछि सडेन डेथमा पुगेको खेलमा अनुभवी डिफेन्डर जोनी इवान्सको प्रहार आकाशिएपछि निर्णायक प्रहारमा म्यानुअल अकान्जीले गोल गर्दा सिटी विजयी भयो।
म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिटीले उपाधि जितेको हो। वेम्बली रंगशालामा भएको खेलमा प्रिमियर लिग विजेता सिटीले बाजी मार्यो। कम्युनिटी सिल्डलाई इंग्ल्यान्डमा नयाँ सिजनको सुरुआत हुने समयमा आयोजना गरिने गर्दछ। अघिल्लो सिजनको कम्युनिटी सिल्डको उपाधि आर्सनलले जितेको थियो।
फाइनलमा म्यानचेस्टर सिटीलाई हराएर आर्सनलले उपाधि जितेको हो। यसअघि एफए कपको फाइनलमा यी दुई डर्बी टोली भिडेका थिए। सिटीलाई हराउँदै युनाइटेडले उपाधि चुमेको थियो। तर सिटीले एफए कपको बदला कम्युनिटी सिल्डमा तिर्यो।