डेङ्गी र हैजाका सङ्क्रमित बढे

हिमाल प्रेस २६ साउन २०८१ १४:३६ | Saturday, August 10, 2024
डेङ्गी र हैजाका सङ्क्रमित बढे

काठमाडौँ– पछिल्लो समय डेङ्गी र हैजाका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी संक्रमितको संख्या तीन हजार ८४ जना पुगेको छ।

चार दिनयता सात सय २२ जना डेङ्गी सङ्क्रमित थपिएका हुन्। यही साउन २१ गते दुई हजार तीन सय ६५ जनामा डेङ्गी पुष्टि भएको थियो। यो संख्यामा शुक्रबारसम्म तीन हजार ८४ रहेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए।

उनका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको छ। सबभन्दा बढी डेङ्गी तनहुँमा पाँच सय ८३ जनामा देखिएको छ। काठमाडौँ जिल्लामा तीन सय सात, कास्कीमा एक सय ६६ र झापा एक सय ३५ जना डेङ्गी सङ्क्रमित देखिएका छन्।

स्वास्थ्य मन्त्रालयले डेङ्गीे सङ्क्रमितको सङ्ख्या बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लाखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ।

‘सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ।

४७ मा हैजा पुष्टि

यस्तै महाशाखाका अनुसार हैजाका बिरामीका सङ्ख्या ४७ पुगेका छन्। किटजन्य रोग शाखाका प्रमुख डा. दाहालले ललितपुर, काठमाडौँ, प्यूठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएका बताए।

उनका अनुसार ललितपुरमा ३४, काठमाडौँमा दुई, कैलालीमा आठ , प्यूठानमा दुई र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको छ।

प्रकाशित: २६ साउन २०८१ १४:३६ | Saturday, August 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast