‘राजनीतिक स्थिरताका लागि कांग्रेस–एमालेको गठबन्धन’

हिमाल प्रेस २० साउन २०८१ १९:३९
6
SHARES
‘राजनीतिक स्थिरताका लागि कांग्रेस–एमालेको गठबन्धन’

महोत्तरी– नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गठबन्धन राजनीतिक स्थिरताका लागि भएको बताएका छन्।

महोत्तरीको बर्दिवासमा नेपाल प्रेस युनियनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकलाई राजनीतिक स्थिरता दिन संसद्का दुई ठूला दल सहभागी भइ सरकार गठन भएको बताए।

सामान्यतया बहुदलीय पद्धतिमा संसद्को सबैभन्दा ठूलो दल र दोस्रो ठूलो दलहरु सरकारमा र प्रतिपक्षी भूमिकामा हुने अभ्यास भए पनि विशिष्ट जिम्मेवारी निर्वाहका लागि अहिलेको सरकार बनेको उनले स्पस्ट पारे।

‘बहुदलीय पद्धतिमा झट्ट हेर्दा, बुझ्दा नौलो जस्तो त लाग्न सक्छ,’ नेता घिमिरेले भने, ‘तर कुनै दलको स्पस्ट बहुमत नरहेको अहिलेको संसद्मा पटक–पटक गठबन्धन बन्ने र भत्कने क्रमले राजनीतिक स्थिरतामै प्रश्न उभिएपछि दुई मुख्य ठूला दलले संयुक्त सरकार बनाएका हुन्।’ अहिलेको सरकारको मुख्य कुरा नै आमजनतामा राजनीतिक स्थिरताको अनुभूति दिनु रहेको उनको भनाइ छ।

वर्तमान सरकार बनेपछि मुलुकमा अब राजनीतिक स्थिरता बन्छ भन्ने सन्देश प्रवाह भएपछि आर्थिक गतिविधि सुधारात्मक दिशामा अघि बढेको उनले उल्लेख गरे।

‘केही दिन पहिले मौद्रिक नीति सार्वजनिक भयो, त्यसले सकारात्मक प्रभाव पारेको अर्थविद् बताउँदैछन्, पुँजीबजारमा पनि उत्साह देखिएको छ,’ नेता घिमिरेले भने, ‘मुलुकको राजनीतिक स्थायित्वका लागि सरकार बनेको हुँदा अब असफल हुने वा पछि पर्ने छुट सरकारलाई छैन।’

उनले राजनीतिक दलहरुबीचको संवाद र सहमतिले संविधान संशोधन हुनसक्ने बताए। ‘संविधान कुनै ग्रन्थ वा कथा होइन, यो त मुलुकलाई निर्देशित गरिरहने गतिशील दस्तावेज हो, त्यसैले आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ,’ उनले भने।

संविधान संशोधन गणतन्त्रात्मक लोकतान्त्रिक पद्धतिलाई अझ बलियो र समय सापेक्ष बनाउन गरिने घिमिरेको भनाइ छ। ‘विश्वका प्रजातान्त्रिक मुलुकहरुले सयौं पटक संविधान संशोधन गरिसकेका छन्। हामीले पनि यसअघि यसै संविधानमा दुईपटक संशोधन गरिसकेका छौं,’ उनले भने, ‘अब पनि मुलुकको आवश्यकताका लागि दलहरुबीचको सहमतिबाटै हुन्छ।’

प्रकाशित: २० साउन २०८१ १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =