अशोकराज सिग्देल कामु प्रधानसेनापतिमा नियुक्त

हिमाल प्रेस १५ साउन २०८१ १७:३४
68
SHARES
अशोकराज सिग्देल कामु प्रधानसेनापतिमा नियुक्त

काठमाडौँ- सरकारले नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारी सम्हालिरहेका रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ। सिग्देलले साउन २५ गतेदेखि  कामु प्रधानसेनापतिका रूपमा जिम्मेवारी सम्हाल्नेछन्। भदौ २४ मा आफ्नो कार्यकाल पूरा गर्न लागेका प्रधानसेनापति प्रभुराम शर्मा आगामी साउन २४ गतेसम्म जिम्मेवारीमा रहनेछन्। त्यसपछि उनी बिदा बस्नेछन्।

एक महिना कामु चलाएपछि सिग्देल भदौ २४ मा प्रधानसेनापति नियुक्त हुनेछन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिग्देललाई कामु सेनापति नियुक्तिको निर्णय गरेको हो। प्रधानसेनापति शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

शर्माले सेनाको नेतृत्वमा विवाद नभएका व्यक्ति चयन हुनुपर्ने बताउँदै आएका थिए। सिग्देल अहिलेसम्म कुनै पनि काममा विवादमा नआएका र अध्ययन नगरी कुनै पनि काम अघि नबढाउने सैनिक अधिकृत हुन्। उनले सेनाभित्रका रणनीतिकार भनेर पनि पहिचान बनाएका छन्।

सिग्देलले युद्धकार्य विभाग, निरीक्षण विभाग, कल्याणकारी निर्देशनालय, व्यवस्था, नीति तथा योजना विभाग, प्रबन्ध रथी, सम्भार रथी, विश्वशान्ति, मध्य तथा उपत्यका पृतना प्रमुख भएर काम गरिसकेका छन्। उनले अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षण पनि लिएका छन्।

नेपाली सेनालाई व्यावसायिक र अब्बल बनाउन लिइने सबैखाले प्रशिक्षण लिएर आफूलाई पहिलो पंक्तिमा राख्न सफल सैन्य अधिकृत हुन् उनी। सिग्देलले  छोटो अवधिको, मध्यम अवधिको र लामो अवधिको सबैखाले प्रशिक्षण लिएका छन्। प्रधानसेनापति हुनका लागि गर्नुपर्ने हाइयर कमान्ड तथा म्यानेजमेन्ट प्रशिक्षणमा उनी प्रथम भएका थिए।

सिग्देललाई प्रधानसेनापति हुन नदिन सेनाभित्रका र सेवा निवृत्त झुण्डले निकै प्रयास गरेको थियो। केही व्यक्तिले उपरथीबाट उनलाई विवादमा पारेर राजीनामा गराउने वा कारबाही गराउने प्रयास पनि नगरेका होइनन्। ती सबै प्रयास विफल भए। सिग्देल  निकटस्थ अधिकारीलाई आफ्नो कुनै गल्ती नरहेको र ती आफैँ फोकाझैँ फुटेर जाने उत्तर दिन्छन्। चेन अफ कमान्डमा चल्ने सेनालाई जथाभाबी गर्न दिने अनि किर्ते कागज पठाएर व्यक्तिलाई हतोत्साहित गराउने काम भए। त्यस्तालाई चरम कारबाही गर्न चुक्न नहुने सुझाव ती उच्च सैनिक अधिकारीको छ। त्यसो त  प्रधानसेनापति सबैको अभिभावक भएकाले आफ्नो विरोधीलाई पनि स्थान दिनुपर्ने हुन्छ।

प्रधानसेनापति शर्माले सिग्देललाई तीनतारे जर्नेल रथीमा सिफारिस गर्दा समिति बनाएर कागजपत्र छानबिन गरेकाले त्यसमा कुनै कैफियत देखिएको थिएन। केही अधिकृतहरू उनको इमानदारी र चेनअफ कमान्डप्रतिको विश्वासलाई कमजोरी बनाउन प्रयास गरिरहेका थिए।

केही मिडिया र सेनाभित्रकै स्वार्थ समूहले सिग्देललाई प्रधानसेनापति नबनाउन निकै प्रयास गरिरहेका थिए। कुनै बेला रुक्मांगद कटवाललाई हटाएर त्यहाँ अर्का सैन्य अधिकारीलाई प्रधानसेनापति बनाउने प्रयास सामान्य थिएन। त्यस्तै प्रयास अहिले पनि भइरहेको एक उच्च सैनिक अधिकारीले बताए। ती अधिकारीका अनुसार माओवादीले अहिले पनि त्यसैगरी खेल्ने काम गरिरहेको थियो। अहिले पनि सक्छौ भने कारबाही गरे हुन्छ भन्दै माओवादी निकट मानिने एक जर्नेलले प्रधानसेनापति निकटलाई सुनाउने गरेका छन्।

सिग्देल सेनाभित्र कलंक नलागेका व्यक्ति हुन्। सबै ब्याचमा अग्रस्थानमा रहँदै आएका सिग्देल चेन अफ कमान्डमा विश्वास गर्छन्। उनी आफ्नो प्रमुख आफूसँग भएन भने बिचौलिया स्तरका नेताकहाँ दौडेरमात्र नहुने बताउँछन्। राष्ट्रहितमा काम गरेका नेताहरूप्रति निकै सम्मान देखाउने सिग्देल घरमै गएर बिन्ती बिसाउने काम भने गर्दैनन्। कुनै समस्या पर्‍यो भने सिग्देलको उपस्थितिमा सल्टिने गरेको अनुभव सैनिक अधिकारीहरू सुनाउँछन्। सिग्देलले अन्यले झैँ गुट बनाउने, आफैँ प्रधानसेनापति हो भनेर हिँड्ने काम गरेनन्।

शान्त स्वभावका सिग्देलले आफ्नो तवरबाट प्रधानसेनापति पदमा पुग्ने बताउँदै आएका थिए। सिग्देल आफैँमा एक अब्बल सेना रहेको उनका हरेक ब्याच र अध्ययनमा आउने अग्रस्थानले पुष्टि गर्छ। उनी सैन्य अधिकृतका रूपमा सेनामा प्रवेश गर्दा ब्याच टपर थिए भने नेपालभित्र र बाहिर लिने सबै प्रशिक्षण र एकेडेमिक वर्कमा सधैँ पहिलो नम्बरमा पर्दै आएका थिए।

सेनाभित्र उनी कम बोल्ने, काममा प्रोत्साहन गर्ने, आफ्नोअर्को नगर्ने, गुटबन्दी नगर्ने, बरु सबै काम आफैँ गर्ने अब्बल जर्नेलका रूपमा परिचित छन्। सिग्देल जहाँ बस्थे त्यहाँको प्रणाली सुधार्ने काम गर्थे। त्यसैले उनले सेनाको नेतृत्व लिएपछि सेनाभित्रको भ्रष्टाचार निमिट्यान्न पर्ने एक जर्नेलले सुनाए।

पूर्णचन्द्र थापाको समयमा निकै दु:ख पाएका रथी हुन्  सिग्देल। उनको कमजोरी खोजेर कारबाही गराएर रोलमा अर्कोलाई तय गर्ने काम हुन लागे पनि त्यो सम्भव भएन।

सिग्देलले आफूमा कुनै पनि कैफियत नभएकाले उनी ढुक्कसाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्। उनले न त नेताको घरघरमा धाउने काम गरे न त रेस्टुरेन्टमा बसेर योजना बनाए। सधैँ आफ्नो काममा लागिरहे सिग्देल। उनका ब्याची एक सैनिक अधिकृत ठट्टा गर्दै भन्छन्, ‘सिग्देल अनुशासित र सच्चा सिपाही हुन्। उहाँले साँच्चै आफूजस्तो अनुशासित बनाउने प्रयास थाल्नुभयो भने भने हामी त जागिर छोडेर जानपर्ने हुन्छ।’

सिग्देललाई सेनाभित्र रणनीतिकार मानिन्छ। उनी कसले कुन कुरा किन भन्न खोजेको समेत थाहा पाउँछन्। बाहिर कति हल्ला भइसकेको छ तर उनी अहिले पनि ढुक्कले आफ्नो काम गरिरहेका छन्। अन्यले दु:ख दिइरहेको विषयले उनलाई खासै छोएको छैन। अहिले उनीभन्दा माथि पनि नेतृत्व रहेको कारण सक्रिय बन्न आवश्यक ठान्दैनन्।

वर्तमान नेतृत्वभन्दा अघिसम्म हुनेवालाले आफ्नो कमान्ड लिने, आफैँ सेनापति हुँ भन्दै सबै स्थानमा जाने चलन  थियो। शान्त स्वभावका सिग्देल त्यसमा लागेनन्। उनी आफ्नो तवरले स्वाभाविक रूपमा नेतृत्व आउनेमा विश्वस्त थिए। सरकारले पनि त्यही गरिदियो।

सिग्देलको पुर्ख्यौली  घर तनहुँ हो। उनका पिता पिता भैरहवा बसाइँ सरेका हुन्। सिग्देल भने काठमाडौँ आएर सेनाकै विद्यालयमा अध्ययन गरेका व्यक्ति हुन्। रथी हुँदा पनि सामान्य घरमा बसेका सिग्देल भदौ २४ गते देखि तीन वर्षसम्म शशिभवनस्थित भव्य महलमा बस्नेछन्।

यी हुन् नेपालमा हालसम्म भएका प्रधानसेनापति

पृथ्वीनारायण शाह शासनकालका सेनापतिहरू

विराज थापा मगर
महेश्वर पन्त
कालु पाण्डे
शिवरामसिंह बस्न्यात
रामकृष्ण कुँवर
केहरसिंह बस्न्यात
वंशराज पाण्डे
अभिमानसिंह बस्नेत
बलभद्र शाह
कीर्तिमानसिंह बस्न्यात
दामोदर पाण्डे
अमरसिंह थापा
भीमसेन थापा
रणजंग पाण्डे
माथवरसिंह थापा
अभिमान सिंह राना मगर

राणा शासनकालका प्रधानसेनापतिहरू

जंगबहादुर राणा
बमबहादुर राणा
कृष्णबहादुर राणा
रणोद्दीपसिंह बहादुर राणा
जगतशमशेर राणा
धीरशमशेर राणा
जितजंग राणा
खड्गशमशेर जंगबहादुर राणा
रणशमशेर जंगबहादुर राणा
देवशमशेर जंगबहादुर राणा
चन्द्रशमशेर जंगबहादुर राणा
भीमशमशेर जंगबहादुर राणा
जुद्धशमशेर जंगबहादुर राणा
रुद्रशमशेर जबरा
पद्मशमशेर जंगबहादुर राणा
मोहनशमशेर जंगबहादुर राणा
बबरशमशेर राणा
केशरशमशेर राणा

प्रजातन्त्रपछि नेपालका प्रधानसेनापतिहरू

किरणशमशेर राणा
तोरणशमशेर जबरा
नीरशमशेर जबरा
सुरेन्द्रबहादुर शाह
सिंहबहादुर बस्न्यात
गुणशमशेर जबरा
सिंहप्रताप शाह
अर्जुननरसिंह राणा
सत्चितशमशेर जबरा
गडुलशमशेर जबरा
धर्मपालवरसिंह थापा
प्रज्वलशमशेर जबरा
प्यारजंग थापा
रूक्मांगद कटवाल
छत्रमानसिंह गुरुङ
गौरवशमशेर जंगबहादुर राणा
राजेन्द्र क्षत्री
पूर्णचन्द्र थापा
प्रभुराम शर्मा

प्रकाशित: १५ साउन २०८१ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast