दाङ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने बताएका छन्। प्रेस चौतारी दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले वामपन्थीहरूबीचमा एकता अब एकादेशको कथा भइसकेकोले पुरानै बाटोबाट अघि बढ्न नसक्ने समेत स्पष्ट पारे।
उनले साना राजनीतिक दलहरुले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सिर्जना हुने अवस्था आएकाले कम्युनिस्टमा विचार राख्नेहरु एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू कांग्रेसतर्फ धुव्रीकरण हुन आवश्यक भएको धारणा राखे।
दुई प्रमुख दल मिलेर अगाडि बढ्न अठोट गर्दा स्वाभाविक रूपमा मानिसमा प्रश्न उब्जिएको भन्दै पोखरेलले मुलुकको लोकतान्त्रिक मूल्यमान्यताको सवालमा कांग्रेस र एमाले विगतदेखि मिल्दै आएको स्मरण गरे। अघिल्लो गठबन्धनमा १० सिटका नेतालाई प्रधानमन्त्री कबुल नगर्दा लगातार गठबन्धन भत्काउने काम भएको उनले बताए।
उनले स्थायित्व र विकासका लागि बलिया राजनीतिक शक्ति र स्थिरता आवश्यक रहेको बताए।