केरलमा पहिरोले पुर्दा २४ जनाको मृत्यु

हिमाल प्रेस १५ साउन २०८१ ११:२३
24
SHARES
केरलमा पहिरोले पुर्दा २४ जनाको मृत्यु भारतको केरल राज्यमा पहिरोमा परेका सर्वसाधारणलाई उद्धार गरी सुरक्षिततर्फ लैजाँदै उद्धारकर्ता। तस्बिर साभार : बीबीसी

काठमाडौँ- भारतको केरल राज्यमा पर्ने वायनाडमा पहिरोमा परी मंगलबार २४ जनाको मृत्यु भएको छ। केरलकी स्वास्थ्यमन्त्री बिना जर्जलाई उधृत गर्दै बीबीसीले पहिरोमा परी २४ जनाको निधन भएको जनाएको हो।

पहिरोमा केही व्यक्तिहरू हराइरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ। वनमन्त्री एके सासिनद्रनले भनेका छन्, ‘पहिरोमा कति व्यक्ति हराइरहेका छन् भन्ने जानकारी प्राप्त हुन सकेको छैन।’ सुरक्षाकर्मीहरू उद्धार कार्यमा जुटेकाले क्षति विवरण चाँडै प्राप्त हुने अधिकारीहरूले बताएका छन्। पानी परिरहेका कारण उद्धारमा कठिन भइरहेको छ।

केरलका मुख्यमन्त्री पिनराई विजयनले उद्धार कार्यका लागि निर्देशन दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी निधन भएका परिवारका सदस्यलाई समवेदना दिएका छन्। सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ। राष्ट्रपति द्रौपदी मुमूले पनि घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्य चाँडै पूरा हुने बताएकी छन्।

यसैगरी वायनाडका सांसदसमेत रहेका कांग्रेस आईका नेता राहुल गान्धीले घटना सुन्दा आफू व्यथित भएको उल्लेख गरेका छन्।

गान्धीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वायनाडमा भएको पहिरोको घटनाबाट म व्यथित छु। जसले परिवारका सदस्यलाई गुमाएका छन्, उनीहरूप्रति दुःख व्यक्त गर्दछु। पहिरोमा फसेका व्यक्तिको चाँडै उद्धार हुने विश्वास दिलाउँछु।’ केरलमा केही दिनदेखि अविरल वर्षा भइरहेको छ।

प्रकाशित: १५ साउन २०८१ ११:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast