कृषि ‘एम्बुलेन्स’ले घरघरमै ल्याउँछ तरकारी

हिमाल प्रेस १५ साउन २०८१ १०:५२ | Tuesday, July 30, 2024
कृषि ‘एम्बुलेन्स’ले घरघरमै ल्याउँछ तरकारी

कास्की- पोखरा महानगरपालिका–७ माछापुच्छ्रे  टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरीथरीका तरकारी किन्न पाउँदा मख्ख थिइन्। त्यहाँ उनीजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो।

कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को रत्नचोकमा सोमबारदेखि किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुसी छाएको छ।

फर्सीका मुन्टा, गोलभेँडा, करेलालगायत तरकारी हातमा लिएर आस्थाले भनिन्, ‘पृथ्वीचोकतिर पुगेर तरकारी ल्याउने गरेका थियौँ, यसरी घर नजिकै छानीछानी ताजा तरकारी पाउँदा खुसी लागेको छ। यो बजार निरन्तर सञ्चालन भए अझ दैनिक ताजा तरकारी पाइथ्यो कि?’

स्थानीय उत्पादन उपभोगलाई प्रवर्द्धनका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न स्थानमा किसान बजार सञ्चालनमा ल्याएको छ। महानगरले गाउँमा उत्पादन भएका कृषि उपज बजारसम्म ल्याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। कृषि एम्बुलेन्सले महानगरका ग्रामीण बस्तीमा उत्पादित तरकारी निःशुल्क रूपमा बजारमा बिक्रीवितरणमा सहयोग पुगेको छ। गत वर्षदेखि महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो।

महानगर कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्ने काम गरेको बताए। उनका अनुसार पोखराका सात ठाउँमा सातामा एक दिन किसान बजार सञ्चालन हुने गरेकामा माग बढ्दै गएकाले केही वडामा सातामा दुई दिन बजार सञ्चालन हुन थालेको छ।

ग्रामीण भेगका साना किसानले उत्पादन गरेको कृषि उपज संकलनका लागि महानगरका २१ स्थानमा संकलन केन्द्र स्थापना गरिएको र ती ठाउँमा एम्बुलेन्स पुगेर कृषि उपज बजारमा ल्याउने गरेको महाशाखा प्रमुख कडरियाले बताए।

‘ठूला किसानले आफ्नै गाडीबाट ल्याएर बजारमा बिक्री गरे पनि साना किसानले त्यसरी बिक्री गर्न सक्दैनन्। अहिले किसानले आफूले उत्पादन गरेका कृषि उपज संकलन केन्द्रमा लिएर आउँछन्। कृषि एम्बुलेन्सले त्यहाँबाट बजारसम्म ल्याउने गर्दछ। उत्पादकको उत्पादनले राम्रो बजार पाएको छ भने उपभोक्ताले स्वस्थ, विषादीरहित र ताजा कृषि उत्पादन उपभोग गर्न पाएका छन्’, प्रमुख कडरियाले भने। -रासस

प्रकाशित: १५ साउन २०८१ १०:५२ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast