काठमाडौँ- सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेसँगै जेल बस्नुपर्ने भएको छ। उनलाई आइतबार सर्वोच्चले ९ महिना कैद घोषणा गरेको छ। उनलाई यसअघि विशेष अदालतले गरेको फैसलालाई आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले सदर गरेको सर्वोच्च अदालतले जनाएको हो ।
गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्षको कैद सजाय हुने विशेष अदालतको ठहर थियो। तर सर्वोच्चले कैद समय र बिगो घटाएको छ। विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित उनलाई बिगो र त्यही बराबर २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको फैसला केही उल्टीसहित सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए । उप्रेतीका अनुसार जोशीले ६९ लाख १५ हजार जरिवाना बुझाउनुपर्ने छ ।
उनका अनुसार विशेष अदालतले नै जोशीलाई डेढ वर्षको कैद सजाय हुने गरेको फैसलालाई ९ महिनामा झारेको छ। उनलाई अदालतले तत्कालै जेल बस्नुपर्ने बताएको छ।


